स्वच्छ र विश्वसनीय निर्वाचनका लागि पर्यवेक्षकहरूको सामूहिक प्रतिबद्धता
बाँके । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) बाँके शाखाले प्रतिनिधिसभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै जिल्लामा खटिने पर्यवेक्षकहरूलाई अभिमुखीकरण प्रदान गरेको छ।
कार्यक्रम नियोक बाँके शाखाको आयोजनामा तथा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी तामाङले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन पर्यवेक्षकहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै व्यावसायिक र जिम्मेवार ढंगले काम गर्न सबैलाई आग्रह गर्नुभयो । निर्वाचन सफल बनाउन सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै उहाँले प्रत्येक पक्षको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि तथा नियोक लुम्बिनी प्रदेश समिति अध्यक्ष वसन्त गौतमले पर्यवेक्षण आचारसंहिता कडाइका साथ पालना गर्दै निष्पक्ष रूपमा काम गर्न आग्रह गर्नुभयो । नियोकले प्रदेश, जिल्ला र जेनजीमार्फत समेत पर्यवेक्षक परिचालन गरेको छ ।
अभिमुखीकरण कार्यक्रममा पर्यवेक्षणको उद्देश्य, निर्वाचन अवधिमा ध्यान दिनुपर्ने विषय, मौन अवधि, मतदान दिनको आचरण, रिपोर्टिङ प्रक्रिया, कल सेन्टर सञ्चालन लगायतका विषयमा नियोक बाँकेका अध्यक्ष नमस्कार शाह र सचिव हेमराज भट्टले सहजीकरण गर्नुभएको थियो । अभिमुखीकरणपछि सहभागी पर्यवेक्षकहरूलाई प्रदेश अध्यक्ष गौतमले सपथ ग्रहण गराउनुभएको थियो ।
प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि बाँकेमा नियोकमार्फत ११ जना तथा जेनजीमार्फत १० जना गरी २१ जना पर्यवेक्षक जिल्लाभर खटिएका छन्। कार्यक्रमको समापन नियोक बाँके शाखाका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता लोक बहादुर शाहले गर्नुभएको थियो ।
प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार
















