प्रधानमन्त्री कार्कीको प्रतिबद्धता- मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा कुनै कमी हुने छैन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावप्रति सरकार गम्भीर रहेको बताएकी छन् ।
सोमबार देशवासी नाममा सम्बोधन गर्दै इरान र त्यस वरपरको क्षेत्रमा गहिरिँदै गएको युद्धको संकटलाई सरकारले सूक्ष्म रूपमा नियाल्दै त्यस क्षेत्रका नेपाली नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पारेकी हुन् ।
उनले मध्यपूर्वमा रोजगारी तथा अन्य सिलसिलामा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको अवस्थाप्रति सरकार गम्भीर र चिन्तित रहेको बताइन् ।
उनले भनिन्- ‘आज संसारको अर्को कुनामा मध्यपूर्वी क्षेत्रमा युद्धको संकट गहिरिएको छ । इरान र वरपरको तनावले हामीलाई चिन्तित बनाएको छ। विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको छ । त्यहाँ रहनुभएका हाम्रा नेपाली नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार पूर्ण रूपमा कटिबद्ध छ ।’
प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीहरूलाई नआत्तिन, आधिकारिक सूचना मात्र अनुसरण गर्न तथा सम्बन्धित दूतावास र कूटनीतिक नियोगसँग नियमित सम्पर्कमा रहन आग्रह समेत गरिन् ।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार
















