नवलपरासीका मतदान केन्द्रमा उम्मेदवारहरूले मतदाता प्रभावित पार्ने गतिविधि गरेपछि प्रशासनको चेतावनी



नवलपरासी । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का मतदान केन्द्रहरूमा उम्मेदवारहरूले मतदाता प्रभावित पार्ने गतिविधि गरेपछि प्रशासनले कडाइ गरेको छ। जिल्लाका निर्वाचन क्षेत्र नं. १ र २ का केही केन्द्रहरूमा उम्मेदवार स्वयं भित्र पसेर नमस्कार गर्ने, हात मिलाउने र मतदातालाई प्रभावित पार्न खोजेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले यस्तो कार्य नगर्न कडा निर्देशन दिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषन राज भण्डारीले एक जरुरी सूचना जारी गर्दै निर्वाचन आचारसंहिता २०८२ अनुसार कुनै पनि उम्मेदवारलाई मतदान केन्द्र भित्र प्रवेश गरी मतदातालाई प्रभावित पार्ने खालका गतिविधि गर्न नपाइने स्पष्ट पारेका छन्। मतदानको गोप्यता र निष्पक्षता कायम राख्नका लागि यस्ता गतिविधिहरू तुरुन्त रोक्न निर्देशन दिइएको छ।

प्रशासनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आचारसंहिताको अनिवार्य पालना गर्न सबै उम्मेदवार र सरोकारवालाहरूलाई आग्रह गरेको छ। आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई पनि कानुनबमोजिम कारबाही गरिने प्रशासनको चेतावनी छ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्