बैतडीमा क्यान अध्यक्ष चन्दलाई पछि पार्दै रास्वपाका हरिमोहन भण्डारी विजयी



बैतडी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका हरिमोहन भण्डारी विजयी भएका छन्।

भण्डारी २२ हजार १३४ मत ल्याएर विजयी भएका हुन्। उनले ३ हजार ९४० मतले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरे।

यसअघि नेकपा एमालेबाट लगातार ३ पटक विजयी भएका दामोदर भण्डारी भने यसपटक तेस्रो स्थानमा झरे। उनले १७ हजार ९१ मत ल्याएका छन्।

एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ७२ हजार ८४३ मतदाताले मतदान गरेका थिए। जसमा ५ हजार ११३ मत बदर भयो।

हरिमोहन नेपाली कांग्रेसबाट तीन पटक कांग्रेसको महासमिति सदस्य भइसकेका थिए। तर, पार्टीले टिकट दिएर पनि खोसेपछि उनले विद्रोह गरेका थिए। २०७४ मा कांग्रेसबाट प्रदेश सभामा निर्वाचनमा हार व्यहोरेका हरिमोहनलाई २०७९ को निर्वाचनमा पार्टीले टिकट नदिएपछि उनले प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए।

स्वतन्त्र लड्दा थोरै मतान्तरले पराजित भए पनि उनले ११ हजारभन्दा बढी मत ल्याएका थिए।पछिल्लो समय देशमा परिवर्तन आवश्यक ठानेर आफ्नो स्वतन्त्र टिमसहित रास्वपामा प्रवेश गरेका हुन्।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्