आईसीसी टी–२० विश्वकपको उपाधि भारतले जित्यो
काठमाडौं, फागुन २५ । न्युजिल्यान्डलाई पराजित गर्दै भारतले आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ९६ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
भारतले दिएको २ सय ५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा १ सय ५९ रन बनाउँदा सबै विकेट गुमायो । न्युजिल्यान्डका टिम साइफर्टले ५२, कप्तान मिचेल स्यान्टरले ४३ रन बनाए । भारतका जसप्रित बुमराहले ४, अक्षर पटेलले ३ विकेट लिएका हुन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो। भारतका सन्जु सामसनले ५९, ईशान किशनले ५४, अभिषेक शर्माले ५२ रन बनाए । न्युजिल्यान्डका जेम्स नीशमले ३ विकेट लिएका थिए।
योसँगै भारत लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक उपाधि जित्ने पहिलो टोली बनेको छ । भारतले यसअघि सन् २००७ र २०२४ मा उपाधि जितेको थियो । न्युजिल्यान्ड भने दोस्रो पटक उपविजेता बनेको छ । न्युजिल्यान्ड यसअघि सन् २०२१ को फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो ।
१०औँ संस्करणको टी–२० विश्वकपमा लगातार तेस्रो अर्धशतक बनाउने भारतका सन्जु सामसन प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका छन् । त्यस्तै, भारतकै जसप्रित बुमराह फाइनल खेलको उत्कृष्ट खेलाडी बने ।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार
















