धनुषा-१ मा मातृका यादवलाई विजयी घोषणा नगरेको भन्दै नेकपाको आपत्ति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धनुषा–१ बाट आफ्ना उम्मेदवार मातृकाप्रसाद यादव विजयी हुँदा पनि निर्वाचित भएको प्रमाणपत्र नदिएको भन्दै आपत्ति जनाएको छ ।
नेकपाका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै विजयी भइसकेपछि पनि प्रमाणपत्र वितरण नगर्नु कानुनसम्मत नभएको बताएका हुन् ।
आचार्यद्वारा जारी विज्ञप्तिमा निर्वाचन आयोगले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशनअनुसार सबै उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिमा मतगणना सम्पन्न भएको उल्लेख गरिएको छ । उक्त मतगणनाबाट नेकपाका उम्मेदवार यादव विजयी भइसकेको दाबी गरिएको छ ।
निर्वाचन आयोगले धनुषा क्षेत्र नं १ को निर्वाचन परिणाम घोषणा नगर्न भन्दै हिजो निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरेको थियो ।
आयोगले आवश्यक अनुसन्धान गरी कमल निर्माण सेवा प्रालिका शेयरधनीसहित धनुषा जिल्ला क्षेत्र नं.१ बाट रास्वपाका उम्मेदवार समेत रहेका किशोरी साह ‘कमल’ को विभिन्न मितिमा एकल र संयुक्त रुपमा समेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेको प्रमाण पुगेपछि यही फागुन १८ गते उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।
सो निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परी विचाराधीन रहेकाले सो सम्बन्धमा अदालतबाट आदेश नभएसम्म धनुषा जिल्ला निर्वाचन क्षेत्र नं. १ को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा नगर्नु नगराउन आयोगको आजको निर्णयअनुसार अनुरोध गरिएको उनले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।
तर, विजयी घोषणा भइसकेपछि पनि प्रमाणपत्र दिन ढिलाइ गरिनुका साथै निर्वाचन प्रक्रिया र स्थापित विधिविपरीत काम भएको भन्दै नेकपाले चिन्ता व्यक्त गरेको छ ।
नेकपाले निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने गतिविधि रोक्न र विजयी उम्मेदवारलाई यथाशीघ्र प्रमाणपत्र उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेको छ ।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार
















