देश नै घण्टीमय हुँदा जुम्लामा रास्वपा उम्मेदवारको जमानत जफत
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत नै ल्याएको छ । झण्डै दुई तिहाइ नजिक रहेको रहेको रास्वपाले प्रत्यक्षतर्फ १२५ स्थानमा जित हाँसिल गरेको छ भने समानुपातिकतर्फ पनि झण्डै ५० प्रतिशत मत प्राप्त गरेको छ । यद्यपी समानुपातिकतर्फ मतगणना जारी छ ।
देशभर नै नयाँ राजनीतिक लहर सिर्जना गरिरहँदा जुम्लामा भने अचम्मको नतिजा आएको छ । रास्वपाका अधिकांश नेताहरु अत्याधिक मतान्तरका साथ विजयी हुँदा जुम्लामा भने रास्वपा उम्मेदवारको जमानत नै जफत भयो ।
रास्वपाकी उम्मेदवार विनिता कठायतले सदर मतको न्यूनतम १० प्रतिशत पनि प्राप्त गर्न नसक्दा जमानतसमेत जोगाउन असफल भएकी हुन्।
जुम्लामा प्रतिस्पर्धामा रहेका १० उम्मेदवारमध्ये ६ जनाले आवश्यक मत कटाउन नसक्दा जमानत जफत भएको हो। निर्वाचनसम्बन्धी कानूनी व्यवस्थाअनुसार गणना भएको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ।
जुम्लामा खसेको ४० हजार ८ सय ७८ मतमध्ये १ हजार ७ सय ५ मत बदर भएको थियो भने ३९ हजार १ सय ७३ मत सदर भएको थियो। सो आधारमा उम्मेदवारले कम्तीमा ३ हजार ९ सय १७ मत ल्याउनुपर्ने थियो।
तर, रास्वपाकी उम्मेदवार कठायतले ४ सय २१ मत मात्रै प्राप्त गरिन्। यस्तै नेपाल मजदुर किसान पार्टीका बिर्खबहादुर रावतले ४ सय मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धितालले १ सय १३ मत, नेकपा माओवादीका बिर्खबहादुर शाहीले ७० मत, नेपाल जनता पार्टीका रनिल विक्रम शाहीले ४३ मत र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलले १४ मत प्राप्त गरेपछि उनीहरूको जमानत जफत भएको हो।
निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) १४ हजार ८ सय १६ मतसहित विजयी भएका छन्। उनले नेकपाका उम्मेदवार नरेश भण्डारीलाई ३ हजार १ सय ८१ मतान्तरले पराजित गरेका हुन्। भण्डारीले ११ हजार ६ सय ३५ मत प्राप्त गरेका थिए।
त्यसैगरी नेपाली कांग्रेसका दिपबहादुर शाहीले ७ हजार १ सय ४३ मत प्राप्त गरे भने नेकपा एमालेका शान्तिलाल महतले ४ हजार ५ सय १८ मत ल्याए।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार
















