ओलीलाई पनि देउवाकै शैलीमा एमाले अध्यक्षबाट हटाउने तयारी, नेतृत्व सम्हाल्न पौडेल तयार



काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा लज्जास्पल पराजय व्यहोरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउने तयारी सुरु भएको बुझिएको छ ।

सकेसम्म उनलाई सहज तरिकाले राजीनामा दिएर नेतृत्व छाड्न आग्रह गर्ने र त्यो सम्भव नभए विधानबमोजिम पदबाट हटाउने प्रक्रिया सुरु हुने एमालेकै एक केन्द्रीय नेताले बताए ।

स्रोतका अनुसार उपाध्यक्ष विष्णु पौडेल आफू अध्यक्ष बन्न ओलीलाई पदबाट हटाउनको लागि दौडधुपमा छन् । मंसिरमा सम्पन्न महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउन प्रमुख भूमिका खेलेका उपाध्यक्ष पौडेलले अहिले आफूले पनि चुनाब हारेपछि पार्टीमा पुनर्गठनको लागि अग्रसरता लिने घोषणा गरेका थिए ।

पराजित भएपछि सामाजिक संजालमा पौडेलले लेखेका थिए–‘बिगतमा हाम्रा तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैलाई रुपनान्तरण गर्न र नेकपा एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भैरहने प्रतिबद्धता ब्यक्त गर्दछु ।’

स्रोतका अनुसार पार्टीका धेरै पदाधिकारीहरु नेतृत्व परिवर्तन गर्ने पक्षमा तयार भएका छन् । केही पदाधिकारीहरु भने नेतृत्व परिवर्तनको विपक्षमा पनि छन् ।

पौडेलले नेतृत्व परिवर्तनसहित अन्य एजेण्डाहरुमा पार्टीका पदाधिकारीहरुसँग छलफल जारी राखेका छन् । महासचिव शंकर पोखरेल, सचिवहरू भानुभक्त ढकाल, महेश बस्नेत, डा. राजन भट्टराई भने पौडेलको प्रस्ताव स्वीकार गर्न तयार भएका छैनन् । उनीहरु ओलीकै निरन्तरता चाहन्छन् ।

केही पदाधिकारी ओलीलाई नै निरन्तरता दिने पक्षमा र अरु उनलाई नेतृत्वबाट हटाउने पक्षमा भएपछि अहिले एमालेभित्र २ महिनाअघिको नेपाली कांग्रेसभित्रको जस्तो स्थिति देखिएको स्रोत बताउँछ ।

नेतृत्वकै कारण चुनाबमा पार्टी पराजित भएको मान्ने पदाधिकारीहरु अब कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माले समातेकै बाटो समाउने पक्षमा रहेको समेत स्रोतको दावी छ ।

ओलीलाई राजी गराएर नेतृत्व छोड्न लगाउने पक्षमा पौडेल सहितका नेताहरु लागेका छन् । यसो गर्दा पार्टीले वर्तमान अध्यक्षलाई सम्मान र संरक्षण समेत गर्ने वातावरण बन्ने उनीहरुको तर्क छ ।

यद्यपी ओली त्यसका लागि तयार नभए कांग्रेसका तत्कालिन सभापति शेरबहादुर देउवालाई झै विशेष महाधिवेशन बोलाएर भए पनि ओलीलाई पदबाट हटाउने उनीहरुको तयारी छ ।

एमालेको विधानअनुसार ठोस कार्यसूची र उचित कारण देखाएर बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यले लिखितरूपमा माग गरेको मितिले ६ महिनाभित्र केन्द्रीय कमिटीले विशेष महाधिवेशन आयोजना गर्नुपर्ने उल्लेख छ ।

ओलीले आफू अध्यक्ष हुनकै लागि पार्टीको विधानमा ७० वर्षे उमेरहद हटाउने, दुई कार्यकालको व्यवस्था हटाउनेदेखि विद्या भण्डारीलाई पार्टीमा फर्किन नदिनेजस्ता काम गरेपछि पार्टीभित्र उनीसँग चरम असन्तुष्टि रहेको समेत बताइन्छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्