राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
सिंहदरवारस्थित कानुन,न्याय तथा मानवअधिकार समितिको हलमा आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष नव निर्वाचित सदस्यहरूले शपथ लिएका हुन्।
५९ सदस्यीय राष्ट्रिय सभामा एकतिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुने व्यवस्था छ। गत माघ ११ गते राष्ट्रिय सभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो।
जसअनुसार गत माघ ११ गते भएको निर्वाचनमा सातै प्रदेश बाट १८ जना नयाँ सांसद चुनिएका थिए।
जसमा कोशी प्रदेशबाट काँग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए भने निर्वाचनपछि एमालेका सोम पोर्तेल र रोशनी मेचे विजयी भएका थिए।
मधेशमा महिला क्लस्टरतर्फ एमालेकी उम्मेदवार रेखा झा, अल्पसंख्यक क्लस्टरमा काँग्रेसका रंजित कर्ण, दलित क्लस्टरमा काँग्रेसका धर्मेन्द्र पासवान र अन्यतर्फ महन्थ ठाकुर विजयी भएका थिए ।
बागमती प्रदेशबाट महिला क्लस्टरमा काँग्रेसकी गीता देवकोटा र अन्य क्लस्टरमा उम्मेदवार बनेका एमालेका डा। प्रेम प्रसाद दंगाल विजयी भएका थिए।
राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकीबाट अन्यमा काँग्रेसका जगत तिमिल्सिना र महिलामा एमालेकी सम्झना देवकोटा विजयी भएका थिए।
त्यसैगरी लुम्बिनीबाट एमालेकी रामकुमारी झाँक्री महिला कोटाबाट, अपांगता कोटामा काँग्रेसका वासुदेव घिमिरे र अन्य समूहको कोटामा काँग्रेसकै चन्द्रबहादुर केसी विजयी भएका थिए।
त्यस्तै कर्णालीबाट अन्य कलस्टरबाट उम्मेदवार बनेका काँग्रेसका ललितजंग शाही र महिलातर्फ उम्मेदवार रहेकी एमालेकी मिनासिंह रखाल निर्वाचित भए भने सुदूरपश्चिमबाट महिलातर्फ एमालेकी उम्मेदवार लीला भण्डारी र खुल्लातर्फ काँग्रेसका खम्मबहादुर खाती विजयी भएका थिए।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार
















