भुटानका प्रधानमन्त्री तोब्गेले दिए रवि र बालेनलाई बधाई, दुई देशको मित्रता अझ प्रगाढ बन्ने विश्वास
काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले प्रतिनिधि सभा निर्वाचनमा बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहलाई बधाई दिएका छन्।
प्रधानमन्त्री तोब्गेले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत रवि र बालेनका साथै सम्पुर्ण चुनाव गराउन सफल नेपाली जनतालाई पनि बधाई दिएका हुन्।
‘नेपालको आम निर्वाचनमा ठुलो विजय हासिल गर्नुभएमामा श्री बालेन शाह र श्री रवि लामिछानेलाई बधाई छ। साथै सफल चुनावका लागि म नेपाली जनतालाई पनि बधाई दिन्छु’, भुटानका प्रधानमन्त्री तोब्गेले लेखेका छन्, ‘दुईदेशबिचको गहिरो मित्रता अझ प्रगाढ बन्ने आशा छ।’
प्रधानमन्त्री तोब्गेले भुटान र नेपालबिचको मित्रता अझ गाढा बनाउन तयार रहेको पनि उल्लेख गरेका छन्।
यसअघि सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपाका सभापति रवि र वरिष्ठ नेता बालेनलाई टेलिफोनमार्फत विजयका लागि बधाई दिएका थिए।
यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा पार्टी सभापति रवि चितवन-२ र प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन झापा-५ बाट भारी मतले विजयी भएका छन्।
देशभरका १६५ क्षेत्रमध्ये रास्वपाले १२५ सिट जितेको छ भने समानुपातिकतर्फ पनि धेरै ठुलो मात्रामा मत प्राप्त गरेको छ।
प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार
















