प्रदीप ज्ञवालीले बुझाए चुनाव खर्च विवरण, खर्चिए २६ लाख बढी
गुल्मी । नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवालीले आफ्नो निर्वाचन खर्च बुझाएका छन् ।
गुल्मी क्षेत्र नम्बर-१ मा एमालेबाट उम्मेदवार बनेका ज्ञवालीले चुनावी प्रचारप्रसार र व्यवस्थापनमा भएको २६ लाख ७५ हजार ३३० रुपैयाँ खर्च विवरण निर्वाचन आयोगमा बुझाएका हुन् ।
उनले बुझाएको विवरणअनुसार सबैभन्दा बढी खर्च खाना तथा आवासतर्फ ८ लाख ५० हजार रुपैयाँ भएको छ।
त्यसपछि सम्पर्क कार्यालय स्थापना ५ लाख ८० हजार रुपैयाँ, स्टेसनरी तथा प्रचार सामग्री छपाइ ४ लाख ५० हजार रुपैयाँ, विज्ञापन तथा सञ्चारतर्फ १ लाख ७५ हजार ३३० रुपैयाँ र यातायाततर्फ १ लाख रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि निश्चित समयभित्र आफ्नो खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ। सोही प्रावधान अनुसार ज्ञवालीले खर्च विवरण पेस गरेका हुन्।
गुल्मी क्षेत्र नम्बर-१ मा एमालेबाट उम्मेदवार बनेका ज्ञवाली रास्वपाका उम्मेदवार सागर ढकालसंग भारी मतान्तरले हारेका थिए।
ढकालले २९ हजार ६४२ मत ज्ञवालीले १५ हजार १८१ मत प्राप्त गरेर दोस्रो भएका थिए ।
प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार
















