रविको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता विरुद्धको रिट न्यायाधीश मल्ल र पौडेलको इजलासमा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि आज सुनुवाइ हुँदैछ।

यसअघि सोमबार हेर्न नभ्याएको यो रिटको सुनुवाइ आज बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा परेको हो ।

आफूविरुद्ध राजनीतिक प्रतिशोध साध्ने नियत राखी अभियोजन गरिएको दाबी गर्दै लामिछानेले कसुर फिर्ताको मागसहित महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए।

यसअघि गत पुस ३० गते महान्यायाधिवक्ता सबिता भण्डारीले लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन स्वीकृति दिएकी थिइन्।

महान्यायाधिवक्ता भण्डारीले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन स्वीकृति दिएपछि युवराज पौडेल (सफल), अधिवक्ता आभास रेग्मीसहित कानुनका विद्यार्थीहरू र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

निवेदक पौडेलले महान्यायाधिवक्ताको निर्णयलाई गैरकानुनी दाबी गर्दै उक्त निर्णय बदर गर्न अदालतसमक्ष माग गरेका छन्।

साथै, अदालतबाट अन्तिम टुंगो नलागेसम्म महान्यायाधिवक्ताको निर्णय कार्यान्वयन नगर्न र नगराउन अन्तरिम आदेशको समेत माग गरिएको छ।

महान्यायाधिवक्ताले स्वीकृति दिएपछि सम्बन्धित जिल्ला अदालतमा निर्णयका लागि पेस गर्नुपर्ने हुन्छ। तर, सर्वोच्च अदालतमा रिट विचाराधीन रहेकाले कास्की र रूपन्देही जिल्ला अदालतले यस विषयमा निर्णय गरिसकेका छैनन्। सर्वोच्चको आदेशपछि मात्रै जिल्ला अदालतले आवश्यक निर्णय गर्नेछन्।

प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्