गोकुल बाँस्कोटाको चेतावनी – कम्युनिष्ट नसच्चिए अर्को चुनावमै सकिन्छौं



काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गर्दै समयमै सुधार नगरे आगामी दिनमा ठूलो संकट आउने चेतावनी दिएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बाँस्कोटाले पाँच वर्षअघि नै तत्कालीन नेकपाको उत्कर्ष र पतनबारे आफूले आँकलन गरेको स्मरण गरेका छन् ।

उनका अनुसार वामपन्थी शक्तिहरू एकताबद्ध हुँदा जनतामा अभूतपूर्व उत्साह देखिए पनि पार्टीको वैचारिक, संगठनात्मक र व्यवहारिक आधार कमजोर भएकै कारण एकता टिक्न सकेन।

बाँस्कोटाले लेखेका छन्, ‘पाँच वर्षअघि मैले भनेको थिएँ—यो नेकपाको क्लाईमेक्स र कोल्याप्सको समय हो। वाम पार्टी मिलेका थिए र जनतामा अभूतपूर्व उत्साह थियो। तर विचार, संगठन र व्यवहार दुई मितको अधीनस्थ थिए र एकताको आधार कमजोर थियो।’

तत्कालीन नेतृत्वको कार्यशैलीप्रति संकेत गर्दै उनले विश्व कम्युनिष्ट आन्दोलनका अनुभवबाट पाठ नसिकिएको पनि बताएका छन्। सोभियत संघको विघटनबाट शिक्षा नलिइएको र चिनियाँ मोडलको नक्कल गर्न खोज्दा अपेक्षित परिणाम नआएको उनको टिप्पणी छ।

“सोभियत संघबाट सिकिएन र चिनियाँ नक्कल सुपरफ्लप भयो,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।

यद्यपि उनले नेपाली कम्युनिष्ट आन्दोलन पूर्ण रूपमा समाप्त भइनसकेको उल्लेख गर्दै आत्मसमीक्षा र सुधारको आवश्यकता औंल्याएका छन्।

‘सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ,’ भन्दै उनले कम्युनिष्ट शक्तिहरूलाई समयमै सचेत हुन आग्रह गरेका छन्।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्