नवनिर्वाचित सांसदहरूलाई स्वर्णिमले भने– तपाईंहरुले फेरि पढ्नुपर्ने भएको छ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई वाचापत्र दोहोर्‍याएर पढ्न आग्रह गरेका छन् ।

अब जनताले दिएको ऐतिहासिक मतलाई जिम्मेवारीबोध गर्नेगरी लाग्न आग्रह गर्दै उनले संसदमा ध्यान दिनुपर्ने विषयमा पुनः अध्ययन गर्न पनि आग्रह गरे ।

मंगलबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले भने–‘अब थिति बसाल्ने विषयमा पनि गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ । तपाईंहरू फेरि अध्ययनको चरणमा प्रवेश गर्नुपर्नेछ । अब फेरि ब्याक टू कलेज भनेजस्तै हो । यसमा केही आधारभूत डकुमेन्टको फ्रेमवर्क हुनेछ । पार्टीकै धारणाहरू बारे पनि अध्ययन गर्नुपर्नेछ । वाचापत्र दोहोर्‍याएर तेहेर्‍याएर पढ्नुहोला ।’

उनले आफूहरू व्यक्तिगत समस्या समाधान गर्न नआएको बताउँदै प्रणाली नै बदल्ने विषयमा गम्भीर रहन आग्रह गरे ।

उनले भने–‘थिति बसाल्ने संकल्प, अब सिस्टम बसालौं, लथालिंग भएको अर्थ राजनीतिलाई अब सम्हाल्नुपर्नेछ । अब नेपाली जनताले गर्नसक्ने गरी म्यान्डेट दिएर पठाउनुभएको छ । खाली ठूलो पार्टी मात्रै भएर बहुमत नआएको भए यति ठूलो भारी हुँदैन थियो । यसमा सजक हुनुहोला ।’

उनले अब बन्ने नयाँ सरकारका कामहरूलाई याद गर्दै वाचडगको भूमिका निर्वाचन गर्न पनि नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिए ।

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्