प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा कास्की विजयी 



पोखरा ३ चैत। प्रधानमन्त्री (पीएम) कप गण्डकी प्रदेश स्तरीय क्रिकेटमा कास्की ४८ रनले विजयी भएको छ ।

पोखरा रंगशाला क्रिकेट मैदानमा मङ्गलवार भएको फाइनल खेलमा कास्कीका अर्जुन कुमालको शतक र कृष्ण पौडेलको घातक बलिङले कास्कीले नवलपुर माथि जित हासिल गरेको हो । 

कास्कीले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४० रनको योगफल तयार पारेको थियो । कास्कीका लागि अर्जुन कुमालले उत्कृष्ट शतक प्रहार गर्दै १३१ बलमा ९ चौका र १ छक्कासहित १११ रन बनाउनुभएको थियो । त्यस्तै सुवास भण्डारीले ५३ बलमा ४२ रनको योगदान दिए भने अन्त्यतिर कृष्ण पौडेलले आक्रामक ब्याटिङ गर्दै १४ बलमा अविजित २७ रन को योगदान दिनुभयो । 

नवलपुरका बलरमध्ये कमल परियार र अपराजित पौडेलले समान २–२ तथा मुन्ना नेपाली र सुदीप अर्यालले १–१ विकेट लिनुभयो । २४१ रनको लक्ष्य पछ्याएको नवलपुर ४३.२ ओभरमा १९२ रनमै अलआउट भयो । टोलीका लागि दीपक डुम्रेले ५१ बलमा ३६ रन बनाउँदा कप्तान कमल परियारले २९ बलमा ३८ रनको आक्रामक इनिङ खेल्नु भयो गौरव विश्वकर्मा र बिगत पाण्डेले समान २६/२६ रन जोड्नुभयो । 

कास्कीका बलरमध्ये कृष्ण पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै ९ ओभरमा ४ विकेट लिएर नवलपुरको ब्याटिङ ध्वस्त पार्नुभयो । त्यस्तै विपिन खत्री र सुवास भण्डारीले समान २–२ विकेट लिँदा सिब्रिन श्रेष्ठले १ विकेट लिनुभयो । गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतियोगितामा गण्डकी प्रदेशका ६ जिल्लाका खेलाडीहरूको सहभागिता रहेको बताउनुभयो । प्रतियोगिता फागुन २८ गतेदेखि लेखनाथ र पोखरामा सुरु भएको थियो । 

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्