पोखरामा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु



कास्की । पोखरामा २१औँ संस्करणको खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप बुधवारदेखि सुरु भएको छ ।

नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा सुरु भएको प्रतियोगिता शनिवारसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटनमा प्याराग्लाइडिङ मेरुदण्डका रूपमा रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि यो खेल विस्थापित हुने जोखिम बढे पनि यसको निरन्तरताका लागि प्रयास भइरहेको बताउनुभयो ।

सङ्कटमा परेको प्याराग्लाइडिङ व्यवसायलाई पुनः सञ्चालन गर्न विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिँदै उहाँले सेवा गुणस्तरीय बनाउन र सुरक्षामा विशेष ध्यान दिन व्यवसायीलाई आग्रह गर्नुभयो । पोखराको पहिचान साहसिक पर्यटन केन्द्रका रूपमा रहेकोले यसको गरिमा जोगाउन उहाँले आग्रह समेत गर्नुभयो ।

यस पटक प्रतियोगिता एक्युरेसी विधामा मात्र केन्द्रित रहेको छ । प्रतियोगितामा नेपालसहित भारत, चीन, साउदी अरेबिया, उज्बेकिस्तान, इटाली र लेबनान गरी सात देशका ९० पाइलट सहभागी छन्, जसमा १४ जना महिला सहभागी छन्। पाइलटहरूले सराङकोटबाट उडान भरेर फेवाताल किनारस्थित खपौडीमा अवतरण गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । पुरुषतर्फ प्रथमले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिलातर्फ प्रथमले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यसैगरी, समूह (टिम इभेन्ट)तर्फ पहिलो हुने टोलीले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्