कांग्रेस संसदीय दलको नेतामा अर्जुननरसिंह केसीको दाबी, भने– सबैभन्दा सिनियर नेता हुँ
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा अर्जुननरसिंह केसीले दाबी गरेका छन्।
शुक्रबार सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठमा उपस्थित केसीले सञ्चारकर्मीसँग कुरा गर्दै संसदीय दलको नेतामा आफ्नो दाबी रहेको बताएका हुन्।
केसीले आफू सबैभन्दा सिनियर भएकाले आफ्नो दाबेदारी स्वाभाविक भएको बताए ।
‘दलको नेतामा मेरो स्वतः दाबी हुन्छ। सबैभन्दा सिनियर म नै हो। संसदीय अभ्यास र यात्रामा धेरै योगदान गरेको छु। अझ तपाईंहरूमध्ये कोही इतिहासलाई हेर्नुहुन्छ भने २०४७ देखिको संसद् कांग्रेसको सिंगै धानिदिनेमध्ये म पनि हुँ,’ उनले भने ।
केसीले विगतका संसदीय अभ्यासमा आफ्नो सक्रिय सहभागिता रहेको दाबी गर्दै २०४७ सालपछि काँग्रेसको संसदीय यात्रामा आफ्नो महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन्।
उनी समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्। कांग्रेस सभापति गगनकुमार थापाले निर्वाचन हारेपछि संसदीय दलको नेता को भन्ने विषय कांग्रेसमा उठेको छ।
२०७९ को निर्वाचनपछि पनि संसदीय दलको नेता चयन प्रक्रियामा निर्वाचन नै भएको थियो। तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन महामन्त्री गगन थापाबीच संसदीय दलको नेताका लागि निर्वाचन भएकोमा देउवाले जितेका थिए।
प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार
















