केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन सानेपा पुगे गगन
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।
चुनावी परिणामको जिम्मेवारी लिँदै दिएको राजीनामा पार्टीले अस्वीकृत गरेपछि उनी केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन केहीबेरअघि सानेपा पुगेका हुन् ।
आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा समसामयिक संविधान संशोधनको अध्ययनका लागि विज्ञ समूह गठन, १५औँ महाधिवेशनको तयारी, उम्मेदवारहरूसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन प्रभावकारिता, साथै भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिसम्बन्धी विषयहरू मुख्य एजेण्डा रहने जनाइएको छ ।
यसअघि शुक्रबारबाट सुरु भएको केन्द्रीय समिति बैठक आइतबार सम्पन्न भएको थियो ।
उक्त बैठकमा भने सभापति थापा सहभागी भएका थिएनन् ।
फागुन २१ को निर्वाचनमा लज्जास्पद हार ब्यहोरेपछि नैतिकता देखाउँदै सभापति थापाले राजीनामा दिएका थिए । आइतबार सम्पन्न कांग्रेसको केन्द्रीय समिति बैठकले विभिन्न ८ वटा आधार तथा कारण दिँदै सभापति थापाको राजीनामा अस्वीकृत गरेको थियो ।
तर, केन्द्रीय कार्यसमिति बैठकले नै सभापति थापाको राजीनामा अस्वीकृत गरिसकेको कारण वैधानिक रुपमा पार्टी काममा फर्किन मिल्ने भएकाले उनी बैठकमा सहभागी हुन लागेका हुन् ।
पछिल्लो राजनीतिक परिस्थितिका बीच बस्न लागेको उक्त बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार
















