पुनः जिम्मेवारीमा फर्किएका गगनले देउवालक्षित गर्दै भने– मत माग्न नजानेलाई विशेष महाधिवेशनको महत्त्व थाहा हुन्न
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय कार्यसमितिले गरेको निर्णयको सम्मान गर्ने बताएका छन् ।
हालै सम्पन्न निर्वाचनमा आफूलगायत नेताहरूको लज्जाजनक पराजयपछि उनले राजीनामा दिएका थिए। तर हालै बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनको राजीनामा सर्वसम्मत रूपमा अस्वीकृत गरेको थियो।
सभापतिबाट दिएको राजीनामालाई कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अस्वीकृत गरेपछि पार्टीको सो निर्णयको सम्मान गर्ने भन्दै उनी आज सभापतिको रूपमा केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएका हुन् ।
केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि नैतिकताका आधारमा आफूले राजीनामा दिएको तर पार्टी बैठकले अस्वीकार गरेपछि काममा फर्किएको बताए । उनले भने- ‘मैले आफ्नो जे कर्तव्य ठानेँ, त्यो गरेँ ।’
उनले केन्द्रीय कार्यसमितिको बैठकको गरेको निर्णय ठीक कि बेठीक भनेर भन्ने बेला नभएको जिकिर गर्दै भने- ‘केन्द्रीय कार्यसमितिले जे ठिक थान्यो, त्यही निर्णय ग¥यो । मैले केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्नुपर्छ ।’
साथै बैठकमा सम्बोधन गर्दै उनले जसले निर्वाचनमा मत नमाग्नेलाई विशेष महाधिवेशनको महत्त्व थाहा नहुने प्रतिक्रिया दिएका छन्।
थापाले भने-‘जसले मत माग्नुभएन, वा भोट हाल्न जानुभएन उहाँहरूलाई थाहा हुने कुरा भएन। जो साथी लाग्नुभयो उहाँहरुको सुझाव मेरो लागि शिरोधार्य हुने नै भयो।’
थापा आफूपक्षीय समूहको अगुवाइमा भएको विशेष महाधिवेशनमार्फत गत पुस ३० गते पार्टीको सभापति चयन भएका थिए। थापा सभापति भएसँगै देउवापक्षले पार्टीको आधिकारकिता आफूले पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। निर्वाचन आयोगले भने थापा पक्षको कांग्रेसलाई आधिकारिकता दिएको थियो।
थापा सभापति भएपछि शेरबहादुर देउवा न उम्मेदवार बने न निर्वाचनमा मत मागे। निर्वाचन हुने ठिकअघि उपचारको बहानामा सिंगापुर लागे। थापाको प्रतिक्रया यसैप्रति लक्षित थियो।
प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार
















