नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन भदौ २४ देखि २६ गतेसम्ममा गर्ने प्रस्ताव



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ नियमित महाधिवेशन भदौमा गर्ने प्रस्ताव गरेका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा सभापति थापाले आगामी भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

भदौ २४ गते बीपी जन्मजयन्तीको अवसर पारेर १५औँ नियमित महाधिवेशन उद्घाटन गर्नेगरी केन्द्रीय कार्यसमितिले भदौ अन्तिम साताका लागि कार्यतालिका तय गरेको हो ।

जसका लागि क्रियाशील सदस्यता वितरण र २१ चैतदेखि चैत मसान्तसम्म अद्यावधिक विशेष अभियान चलाउने तयारी छ ।१ वैशाखदेखि वैशाख मसान्तसम्म ६ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने, प्रत्येक व्यक्तिले आफू सदस्यता भएकै वडाबाट सदस्यता अद्यावधिक गर्नुपर्नेछ ।

जेठ मसान्तसम्म सदस्यता विवरण केन्द्रमा पठाइसक्नुपर्ने छ भने १५ असारसम्म केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरी टुंग्याउने तयारी कांग्रेसको छ ।

गत पुस २७-३० मा काठमाडौंमा कांग्रेसको दोस्रो विशेष महाधिवेशन भएको थियो । सो महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो ।

लगत्तै १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विशेष महाधिवेशन विधानविपरीत आयोजना गरिएको भन्दै आयोग पुगेको थियो । आयोगले दुवै तर्फबाट प्राप्त कागजात, पार्टीको विधान तथा ऐन–कानुनको अध्ययनपछि थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएको थियो ।

यस्तो छ कार्यतालिका-

१. वैशाख १ देखि मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने

२. असार १५ गते केन्द्रले क्रियाशील सदस्यता छानबिन सक्न।

३. असार मसान्तमा क्रियाशील सदस्यता वितरण निर्वाचन समितिलाई बुझाउने

४. गाउँ, नगर वडा अधिवेशन- साउन ६ गते

५. गाउँ/नगरपालिका अधिवेशन- साउन १२ गते

६. प्रदेश सभा क्षेत्र अधिवेशन- साउन २३ गते

७. प्रतिनिधि सभा क्षेत्र अधिवेशन- साउन ३० गते

८. जिल्ला अधिवेशन- भदौ ६ र ७ गते

९. प्रदेश अधिवेशन- भदौ १५ र १६ गते

१०. केन्द्रीय महाधिवेशन- भदौ २४ देखि २६ गतेसम्म

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्