जुम्लाको हिमामा सुख्खा पहिरो खस्दा तीन घरमा क्षति



जुम्ला, चैत्र १८ । जुम्लाको हिमा गाउँपालिका–६ स्थित खल्ढुङ्गा गाउँमा सुख्खा पहिरो खस्दा तीन वटा घरमा क्षति पुगेको छ ।

मंगलबार दिउँसो करिब १२ बजेतिर गाउँ माथिबाट खसेको पहिरोले स्थानीय ललिजन अधिकारीका दुई घरमध्ये एउटा घर पूर्ण रूपमा नष्ट भएको छ भने अर्को घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ ।

त्यस्तै सोही स्थानका बुच्चो अधिकारीको घरमा पनि क्षति पुगेको छ । पहिरोका कारण घरभित्र रहेका अन्नपात, भाँडाकुँडा लगायतका सामग्री समेत पूर्ण रूपमा नष्ट भएका छन् । दिनको समयमा पहिरो गएको कारण मानवीय क्षति भने नभएको बताइएको छ ।

स्थानीयका अनुसार, उक्त क्षेत्रमा ढुंगा खस्ने जोखिमबारे गाउँका युवाहरूले एक हप्ता अघि नै स्थानीय सरकारलाई निवेदन दिएका थिए ।

यसअघि २०७९ साल असोजमा आएको अविरल वर्षाका कारण पनि सोही गाउँका छ वटा घर पहिरोले बगाएको थियो ।

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्