ठूला फाइल खोल्दै अख्तियार, सरकारको स्पिरिट अनुसार काम गर्न प्रमुख आयुक्त तयार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका ठूला फाइलहरु खोल्ने भएको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो । लगत्तै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराएसँग देश्ले लामो समयपछि बहुमतको सरकार पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार सञ्चालन गरिरहेको छ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले सरकारको नेतृत्व गरेपछि विचौलिया र भ्रष्टाचारीहरु तितरवितर र विचलित भएका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वउर्जामन्त्री दीपक खड्का, एमालेकी लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मा, नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल, विचौलियाको उपमा पाएका विवादास्पद व्यापारी दीपक भट्ट, शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल, शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललगायत पक्राउ परिसकेका छन् ।
त्यतिमात्रै होइन भ्रष्टाचारविरुद्ध आक्रमक शैलीमा प्रस्तुत भएको सरकारले दुई साताको समयमा विचौलिया र गुण्डागर्दीमा संलग्न झण्डै एक हजार जनालाई पक्राउ गरिसकेको छ । यद्यपी शंकर अग्रवाल र शर्मा भने छुटिसकेका छन् ।
‘ठूला माछा’ भनिएका हरुलाई समेत नछाड्ने प्रण लिएको सरकारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि साथ दिने बुझिएको छ ।
नयाँ सरकार आए लगत्तै अख्तियारसहित सम्बैधानिक आयोगका पदाधिकारीहरु परिवर्तन हुने आशंका पैदा भइरहेका बेला अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राइले भने वर्तमान सरकारलाई नै साथ दिने देखिएको छ ।
‘ठूला माछा’ पक्राउ गर्ने सिलशिलामा केही दिन अघि गृहमन्त्री सुधन गुरुङले अख्तियार प्रमुख राईसँग भेटवार्ता गरेका थिए । प्रमुख आयुक्त राईलाई भेटेर उनले भ्रष्टाचारका मुद्दाको अनुसन्धान र अभियोजनमा तीव्रता दिन आग्रह गरेपछि आयोग अघि बढेको हो ।
स्रोतका अनुसार गुरुङ ३ दिनअघि राईलाई भेटेका मन्त्री गुरुङले सरकारको तर्फबाट पूर्णसाथ रहने प्रतिवद्धता पनि जनाएको बुझिएको छ ।
गृहमन्त्री गुरुङले प्रमुख आयुक्त राईलाई सरकारको स्पिरिटलाई समाएर काम गर्न आग्रह गरेको स्रोत बताउँछ । सूचना, जनशक्ति जे आवश्यक पर्छ सरकार त्यो दिन तयार भएको जानकारी गराउँदै गृहमन्त्री गुरुङले धमाधम फाइल खोल्न आग्रह गरेका थिए ।
गृहमन्त्रीसँग राईले यसअघि पनि आफूले निष्पक्ष अनुसन्धानसहित पूर्वप्रधानमन्त्री, पूर्व मुख्यसचिवहरू मुछिएका ठूला भ्रष्टाचारका काण्डको अभियोजन गरेको जानकारी गराएका थिए ।
आयोगले अहिले नेपाल आयल निगमको भैरहवा, चितवन, सर्लाही र झापामा जग्गा किन्दा भएको करिब ६७ करोड रुपैयाँ घोटाला प्रकरण, अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालिन अध्यक्षविरुद्धको मुद्दा, तत्कालीन लडाकु शिविरमा फर्जी लडाकु देखाएर एकीकृत माओवादी नेतृत्वसहितको मिलेमतोमा ३ अर्ब रुपैयाँभन्दा बढी घोटाला भएको प्रकरणको फाइल पुनः खोल्ने तयारी गरेको छ ।
त्यसैगरी, नेपाल चिया विकास निगम लिजमा दिँदा भएको २२ अर्ब रुपैयाँ भ्रष्टाचार प्रकरण, सशस्त्र प्रहरी बलमा हतियार खरिदमा भएको घोटाला, वाइडवढी, ललिता निवास प्रकरण, बालमन्दिर जग्गा प्रकरण, यति–ओम्नी काण्ड, ३३ केजी सुन प्रकरणलगायतका फाइलहरु अख्तियारले खोल्ने तयारी गरेको बुझिएको छ ।
प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार
















