ट्रम्पले लम्याए इरानसँगको युद्धविराम अवधि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा युद्धविराम अवधि लम्ब्याएका छन्। मार्च ७ मा १४ दिनका लागि भएको युद्धविराम अवधि बुधबारदेखि समाप्त हुँदै थियो। युद्धविराम अवधि समाप्त हुन केही घन्टा बाँकी हुँदा ट्रम्पले यसको अवधि अनिश्चितकालका लागि बढाइएको घोषणा आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसलमार्फत गरेका हुन्।
‘इरानका नेता र प्रतिनिधिहरूले साझा प्रस्ताव ल्याएर वार्ता टुंगोमा नपुग्दासम्म युद्धविराम पनि जारी राख्ने निर्णय गरेको छु,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।
युद्धविराम जारी राख्नका लागि पाकिस्तानले अनुरोध गरेको पनि ट्रम्पले खुलाएका छन्।
युद्ध छैटौं हप्तामा पुग्दा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख असिम मुनिरको मध्यस्थतामा दुई देशबीच युद्धविराम भएको थियो।
‘यही अवस्थामा असिम मुनीर र शहबाज शरीफले गरेको अनुरोधपछि हामीलाई इरानमाथि गर्ने भनिएको आक्रमण केही समयका लागि रोक्ने भएका छौं,’; ट्रम्पले भनेका छन्।
यद्यपि इरानमाथिको नाकाबन्दी जारी राख्न र अरू सबै हिसाबले तयारी अवस्थामा बस्न पनि सेनालाई निर्देशन दिइएको ट्रम्पले बताएका छन्।
तर यो घोषणा एकपक्षीय देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। इरान र इसराइलले युद्धविराम थपबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।
इरानतर्फबाट औपचारिक प्रतिक्रिया नआए पनि इस्लामिक रिभोलुसनरी गार्डसँग आबद्ध तस्निम समाचार एजेन्सीले इरानले युद्धविराम थप्नका लागि इरानले आग्रह नगरेको दाबी गरेको छ।
साथै, अमेरिकी नाकाबन्दीलाई बल प्रयोग गरेर तोड्ने चेतावनी दिएका छन्।
यसअघि ट्रम्पले युद्धविराम अवधि नबढाउने बताएका थिए। १४ दिनको युद्धविराम समयभित्रै दीर्घकालीन सम्झौता हुनुपर्ने, त्यसो नभए इरानको ऊर्जा संरचना र पुलहरू ध्वस्त पार्ने चेतावनी उनले दिएका थिए।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलगायतले ट्रम्पको उक्त चेतावनीको आलोचना गर्दै नागरिक संरचनामाथि आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनविरुद्ध हुने बताएका थिए।
फेब्रुअरी २८ देखि सुरु भएको यो द्वन्द्वमा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानविरुद्ध सैन्य कारबाही थालेका थिए। ट्रम्पले इरान सरकार आन्तरिक रूपमा विभाजित भएको दाबी गर्दै त्यही कारण युद्धविराम थपिएको बताएका छन्।
यता, इस्लामावादमा हुने भनिएको दोस्रो चरणको वार्ताबारे अनिश्चितता कायम छ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले भने युद्धविराम थप्ने निर्णयका लागि ट्रम्पलाई धन्यवाद दिएका छन्।
ुदुवै पक्षले युद्धविराम पालना गर्दै इस्लामावादमा हुने दोस्रो चरणको वार्ताबाट स्थायी शान्ति सम्झौतामा पुग्ने अपेक्षा छ,ु उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।
दोस्रो चरणको वार्ता कहिले हुने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।
दोस्रो चरणका लागि इस्लामावादले मध्यस्थता गरिरहँदा अमेरिकाले हर्मुज नजिकैबाट इरानी पानीजहाज कब्जा गरेपछि वार्ता अनिश्चित बनेको थियो।
इरानमा शासन चलाइरहेको इस्लामिक रिभोलुसनरी गार्ड कोर्स ९आइआरजिसी० ले अमेरिकाले इरानलाई हर्मुजमा लगाएको नाकाबन्दी नखुलाएसम्म वार्तामा नबस्ने अडान लिएकाले वार्ता अनिश्चित भएको बताइन्छ।
अमेरिकासँग वार्ता गर्ने विषयमा इरानमा आन्तरिक विभाजन देखिएको छ। मध्यमार्गी राजनीतिक नेताहरू वार्ता गरेर अमेरिकासँग सुलह गर्ने पक्षमा देखिएका छन् भने सेनाले चाहिँ अमेरिकासँग झुक्न नहुने भनेर कडा सर्तहरू अघि सारेको भनेर विभिन्न अमेरिकी मिडियाले लेखेका छन्।
इरानका राजनीतिक नेताहरूमाथि सेना हावी भएकाले हर्मुज फेरि बन्द भएको समाचार आएका छन्।
प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार
















