सुकुमबासी रास्वपा कार्यालय घेराउ गर्न बनस्थली जाँदै



काठमाडौं । सरकारले सुकुमबासी बस्ती डोजर चलाउने तयारी गरेपछि थापाथलीस्थितका सुकुम्बासी बासिन्दाहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालय घेराउ गर्ने भएका छन् ।

सरकारले बस्ती हटाउने तयारी थालेपछि सुकुमबासी बासिन्दाहरू आफूहरूलाई नहटाउन दबाब दिनका लागी वनस्थलीस्थित पार्टी कार्यालयमा जान लागेका हुन् ।

पार्टी सभापति रवि लामिछानेले चुनावमा दिएको अभिव्यक्ति सम्झाउँदै प्रदर्शन गर्ने उनीहरुको तयारी छ ।

एक सुकुम्बासी अगूवाले आफूहरु शान्तिपूर्णरुपमा कार्यालय घेराउ गर्न बनस्थली हिँडिसकेको बताएका छन् ।

सुकुम्बासी कार्यालय आउन लागेको सूचना पाएपछि रास्वपाको केन्द्रीय कार्यालयमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सरकारले भने भोली डोजर चलाउने तयारी गरिसकेको छ । प्रहरीले बिहीबार साँझ नै बागमती किनार आसपास माइकिङ गरेर थापाथली, सिनामंगललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्ती खाली गर्न भनेको थियो।

शनिबारसम्म बस्ती खाली गरिने र अटेर गर्नेका संरचना भत्काइने, त्यसबाट हुने व्यक्तिगत सम्पत्तिको क्षतिका लागि आफैँ जिम्मेवार हुनुपर्ने चेतावनी दिइएको थियो।

शुक्रबार बिहानैबाट बागमती किनार, मनोहरा किनार लगायत क्षेत्रमा बस्दै आएका सुकुमबासीहरुले आफ्नो सामान प्याक गरिरहेका छन् ।

कसैले भने सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा सरकारविरुद्ध नारा लगाउँदै स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्