टिकटकमार्फत महिलालाई उपहारको लोभ देखाइ २ लाख ठगी, एक युवक पक्राउ
काठमाडौं। टिकटकमा महिलाहरूलाई अनलाईन मार्फत उपहार पठाउने बहानामा रकम असुल्ने एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाउँपालिका-६ निवासी २७ वर्षीय सुजन लिम्बू उर्फ सुशन थेगिम रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले ‘रोहन राजपूत’ नामक टिकटक आइडी सञ्चालन गरी नेपाली महिलासँग साथी बनेर संवाद गर्ने गरेका थिए।
प्रारम्भिक चिनजानपछि विभिन्न प्रलोभन देखाउँदै विश्वास जित्ने प्रयास गरिएको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार उनले डलर, गरगहना लगायतका उपहार पठाइसकेको र ती सामग्री त्रिभुवन विमानस्थलस्थित डीएचएल शाखामा पुगेको भन्दै सन्देश पठाउने गरेका थिए। उक्त सामान बुझ्न भन्सार शुल्क तिर्नुपर्ने भन्दै रकम माग्ने गरेको बताइएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार ह्वाट्सएपमार्फत ४० भन्दा बढी महिलासँग सम्पर्क गरिएको देखिएको छ।
यसरी सम्पर्कमा आएका व्यक्तिहरूसँग ह्वाट्सएपमार्फत संवाद गरी विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाइएको र हालसम्म करिब २ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। आरोपीमाथि ठगी कसुरमा थप अनुसन्धान सुरु गरिएको छ।
प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार
















