एम्बुलेन्समा लुकाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ



काठमाडौं । एम्बुलेन्समा लुकाएर गाँजा तस्करी गरेको आरोपमा एम्बुलेन्स चालकसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

सिराहाको बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्स प्रयोग गरी गाँजा ओसारपसार भइरहेको अवस्थामा १४८ केजी गाँजा सहित उनीहरुलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाउको छ ।

सुनसरी प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत विहार राज्यको सुपोल जिल्लाका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र २१ वर्षीय मोहम्मद सदाम रहेका छन्। यादव एम्बुलेन्स चालक हुन् भने सदाम त्यसमा सवार रहेका थिए।

प्रहरीले नियमित जाँचका क्रममा शंका लागेपछि एम्बुलेन्स रोकी तलासी गर्दा ठूलो परिमाणमा गाँजा फेला पारेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार