सिनेमा संवादमा बजार, कन्टेन्ट र व्यावसायिकतामाथि गहन मन्थन
पोखरा, २७ वैशाख । चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय गाउँ ल्वाङमा सम्पन्न ‘सिनेमा संवाद’ कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका विविध आयाम, चुनौती र सम्भावनामाथि गहन छलफल गरिएको छ ।
‘सिनेमा संवाद’को चौथो संस्करण अन्तर्गत आयोजित कार्यक्रममा चलचित्रकर्मी, पत्रकार तथा स्थानीय सहभागीबीच नेपाली सिनेमाको बजार, कन्टेन्ट, प्रविधि, व्यावसायिकता र सिर्जनात्मक पक्षबारे बहस भएको थियो ।
कार्यक्रमको दोस्रो दिन शनिबार गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले ‘क्लाप’ गरेर उद्घाटन गरेकी थिइन् । उद्घाटन मन्तव्यमा उनले सिनेमा समाजको ऐना मात्र नभई विचार प्रवाह गर्ने सशक्त माध्यम र आर्थिक समृद्धिको आधारसमेत भएको बताइन् । डिजिटल युगमा फैलिरहेका भ्रमपूर्ण सूचनालाई चिर्न चलचित्रकर्मीले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिँदै उनले कलाकारहरू समाजका रोल मोडल बन्नुपर्ने धारणा राखिन् ।
माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारी तथा वडा नं. ८ का वडाध्यक्ष राम गुरुङले यस्ता कार्यक्रमले ग्रामीण पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने बताए । पहिलो दिनको साँझ ल्वाङ होमस्टेमा आयोजित ‘सिनेमा साँझ’ कार्यक्रममा कलाकार र स्थानीयबीच सांगीतिक तथा भावनात्मक अन्तरक्रिया भएको थियो ।
उद्घाटनपछि चार फरक सत्रमार्फत नेपाली सिनेमाका विविध पक्षमा संवाद गरिएको थियो । ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ विषयक पहिलो सत्रमा लेखक तथा निर्देशक सामिप्यराज तिमिल्सिनाले नेपाली फिल्म अन्तर्राष्ट्रिय महोत्सवसम्म पुगिसकेको उल्लेख गर्दै अब विश्व बजार विस्तारमा ध्यान दिनुपर्ने बताए । उनले ‘उनको स्वीटर’ र ‘जेरी एण्ड टप’ जस्ता चलचित्रले विदेशमा उल्लेखनीय व्यापार गरेको तथ्य प्रस्तुत गर्दै नेपाली सिनेमाको बजार विश्वव्यापी बन्दै गएको धारणा राखे । अभिनेत्री बेनिशा हमालले बलियो कथा र प्रस्तुतिले सीमित बजेटलाई समेत प्रभावकारी बनाउन सक्ने अनुभव सुनाइन् ।
‘नयाँ पुस्ता र नेपाली सिनेमा’ विषयक दोस्रो सत्रमा अभिनेत्री आचल शर्माले पुरानो पुस्ताको मेहनत र अनुशासनलाई आत्मसात गर्दै नयाँ पुस्ताले फरक र सिर्जनात्मक विषयवस्तु प्रस्तुत गर्नुपर्ने बताइन् । अभिनेता सलोन बस्नेतले चलचित्र निर्माण प्रणालीमा सुधार आवश्यक रहेको धारणा राखे भने अभिनेत्री सनिशा भट्टराईले महिला सशक्तीकरणका विषयमा थप सिनेमा निर्माण हुनुपर्नेमा जोड दिइन् ।
तेस्रो सत्र ‘सिनेमामा द्वन्द्व’ मा अभिनेता निखिल उप्रेतीले द्वन्द्वलाई केवल कुटाकुट नभई परिस्थितिको स्पष्ट अभिव्यक्ति भएको बताए । उनले नेपाली फिल्मले विदेशी चलचित्रको प्रभाव कम गर्दै स्वदेशी बजार बलियो बनाउनुपर्ने धारणा राखे । निर्देशक मनोज पण्डितले अधिकांश फिल्मले लगानी उठाउन नसकिरहेको यथार्थ प्रस्तुत गर्दै दर्शकलाई अनुभूति गराउने गुणस्तरीय सिनेमा निर्माणमा जोड दिए । उनले विदेशी चलचित्रमार्फत नेपालबाट वार्षिक अर्बौं रकम बाहिरिने तथ्य पनि उल्लेख गरे ।
अन्तिम सत्र ‘कन्टेन्ट क्रिएटर भर्सेस नेपाली सिनेमा’ मा सामाजिक सञ्जाल र सिनेमाबीचको सम्बन्धबारे छलफल भएको थियो । कन्टेन्ट क्रिएटर इस्टु कार्कीले आफू समाजमा प्रभाव पार्ने पात्रमार्फत सन्देश दिन रुचाउने बताइन् भने महेश भण्डारीले कलाकारितामा लगावसँगै आर्थिक पक्षको व्यवस्थापन पनि महत्वपूर्ण हुने धारणा राखे ।
संघका अध्यक्ष सन्तोष बस्यालले कार्यक्रमले चलचित्रकर्मी र पत्रकारबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे । संवादमा उठेका विषयहरूले नेपाली चलचित्र क्षेत्रको दायरा अझ फराकिलो बनाउने उनको भनाइ थियो ।
घान्द्रुक, सिक्लेस र घलेगाउँपछि ल्वाङमा सम्पन्न ‘सिनेमा संवाद’को चौथो संस्करणले नेपाली सिनेमाको विकासका लागि नयाँ बहसको सुरुवात गरेको संस्थापक अध्यक्ष श्रीराम सिग्देल र पूर्वअध्यक्ष अरुण गिरीले बताए ।



प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार







