सरकार विधिअनुसार चले कांग्रेसको साथ रहन्छ : सभापति थापा
पोखरा, ३१ वैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार संविधान, कानुन र विधिअनुसार सञ्चालन भए कांग्रेसले पाँच वर्षसम्म सरकारलाई सहयोग गर्ने बताएका छन् ।
पोखरामा बिहीबार आयोजित कांग्रेसको प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले सरकार विधिसम्मत ढंगले अघि बढ्न नसके प्रमुख प्रतिपक्षका रूपमा कांग्रेसले खबरदारी गर्ने स्पष्ट पारे ।
उनले बालेन्द्र शाह नेतृत्वको सरकार संविधानको मर्मअनुसार सञ्चालन हुनुपर्ने उल्लेख गर्दै बेलगाम ढंगले अघि बढे सरकारकै लागि घातक बन्न सक्ने चेतावनी दिए ।
सभापति थापाले भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा नेपाल–भारत सीमावर्ती क्षेत्रका नागरिकप्रति भइरहेको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै ती समुदायको संरक्षणमा प्रदेश र स्थानीय तह सक्रिय हुनुपर्ने बताए ।
उनले निजी क्षेत्रमाथि भइरहेको गैरकानुनी हस्तक्षेपप्रति पनि आपत्ति जनाउँदै निजी क्षेत्रलाई त्रसित बनाएर सुशासन कायम गर्न नसकिने धारणा राखे ।
पार्टीभित्र एकता र जनविश्वास बलियो बनाउनुपर्नेमा जोड दिँदै थापाले असन्तुष्ट जनताको मन जित्न कांग्रेसले संगठन सुदृढीकरणमा ध्यान दिनुपर्ने बताए । उनले क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई प्रभावकारी बनाउन पनि आग्रह गरे ।
कार्यक्रममा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संवैधानिक रिक्तता अन्त्यका लागि कांग्रेस निर्वाचनमा सहभागी भएको उल्लेख गर्दै सङ्घीय र प्रदेश सरकारबीच सहकार्य आवश्यक रहेको बताए । उनले कांग्रेस–एमाले गठबन्धन सातै प्रदेशमा कायम रहने दाबी पनि गरे ।
महामन्त्री गुरु घिमिरेले पार्टीको सदस्यता अद्यावधिक अभियान निरन्तर चलिरहने बताउँदै यसलाई प्रविधिमैत्री अभियानका रूपमा अघि बढाइएको जानकारी दिए ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले बालेन्द्र शाह नेतृत्वको सरकार आफ्नै कारणले कमजोर बन्ने दाबी गर्दै सेवा प्रवाह सुधारमा ध्यान दिन आग्रह गरे ।
गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीलाई नीतिगत रूपमा एकताबद्ध बनाउन सबै नेता–कार्यकर्ताले सक्रिय भूमिका खेल्नुपर्ने बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले स्थानीय, प्रदेश र पार्टी प्रतिनिधिबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा नीति तथा प्रशिक्षण विभागका सहसंयोजक मधु आचार्य, गण्डकी प्रदेशकी उपसभापति कल्पना तिवारी तथा महामन्त्री विष्णु लामिछानेलगायतले पार्टी संगठन सुदृढीकरणका विषयमा धारणा राखेका थिए ।
यसअघि कांग्रेसले सुदूरपश्चिम र कर्णाली प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको छ भने आगामी दिनमा बागमती, मधेश र कोशी प्रदेशमा पनि प्रदेशस्तरीय भेला आयोजना गर्ने कार्यक्रम रहेको जनाएको छ ।
प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार
















