टर्कीमा श्रृङ्खलावद्ध गोली प्रहारः ६ जनाको मृत्यु, ८ घाइते



दक्षिण टर्कीको मेर्सिन प्रान्तमा सोमवार भएको शृङ्खलावद्ध गोलीकाण्डमा परी ६ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । रेस्टुरेन्ट सम्बन्धी विवादका कारण उक्त हिंसात्मक घटना भएको सरकारी समाचार एजेन्सी अनादोलुले जनाएको छ । समाचारकाअनुसार घटनाको सुरुवात मेर्सिनको चाम्लियाला जिल्लाबाट भएको थियो ।

त्यहाँ एक संदिग्ध व्यक्तिले ‘पम्प–एक्शन शटगन’ प्रयोग गरी सडकमा आफ्नी पूर्वपत्नीको गोली हानी हत्या गरेका थिए । त्यसपछि ती संदिग्ध टार्सस जिल्लास्थित एक रेस्टुरेन्टमा पुगेर आफ्नो गुडिरहेको कारबाटै अन्धाधुन्ध गोली चलाएका थिए । उक्त आक्रमणमा रेस्टुरेण्ट सञ्चालक र एक कर्मचारीको ज्यान गएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार रेस्टुरेन्ट सञ्चालकसँग संदिग्धको पुरानो रिसइबी रहेको थियो । सोही क्रममा गोली लागेर नजिकै रहेका एक गोठाला गम्भीर घाइते भएका थिए, जसको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ। संदिग्धले अर्को एक छिमेकी इलाकामा पुगेर थप दुई जनाको हत्या गरेको अनादोलुले उल्लेख गरेको छ ।

घटनालगत्तै सुरक्षा निकायले संदिग्धको खोजीका लागि मेर्सिन र छिमेकी प्रान्त अदानाका विभिन्न स्थानमा सडक अवरुद्ध ९रोडब्लक० गरी स्थल तथा हवाई अप्रेशन सुरु गरेको छ । खोजी कार्यमा हेलिकप्टर र ड्रोनको समेत प्रयोग गरिएको सुरक्षा स्रोतले जनाएको छ ।
यसअघि गत अप्रिलमा दक्षिण–पूर्वी टर्कीका दुई विद्यालयमा भएका गोलीकाण्डमा १० जनाको मृत्यु र करिब ३० जना घाइते भएका थिए । उक्त घटनापछि देशभर सुरक्षा व्यवस्था कडा पारिएकै समयमा पुनः यो दुखद घटना भएको हो ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार