विदेशी युवतीलाई अलपत्र पारेको आरोप लागेका रास्वपा सांसद कार्कीलाई तत्काल पक्राउ गर्न जेनजी मुभमेन्टको माग



काठमाडौं । जेनजी मुभमेन्ट नेपालले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ–२) लाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेको छ ।

जेनजी मुभमेन्ट नेपालले २०८२ को भदौ २४ गते सिंहदरबार तथा संसद् भवनमा भएको आगजनी र तोडफोड घटनामा कार्कीको प्रत्यक्ष संलग्न भएको आरोप लगाउँदै तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेको हो ।

मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भिडियो तथा तस्बिरहरूमा सांसद कार्की स्वयं संसद् भवन परिसरमा आगजनीमा संलग्न भएको देखिएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ–‘राज्यको प्रमुख प्रशासनिक तथा संसदीय संरचनामाथि गरिएको यस्तो हमला सामान्य राजनीतिक गतिविधि नभई गम्भीर फौजदारी अपराध हो ।’

सांसद कार्कीमाथि हालै एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप पनि सार्वजनिक भएको छ । साथै संसद् बैठकमा सभामुखले पटक–पटक नाम बोलाउँदा पनि उनी अनुपस्थित रहेको विषयले उनको जिम्मेवारी र आचरणमाथि थप प्रश्न उठाएको छ ।

विज्ञप्तिमा निवर्तमान गृहमन्त्री सुधन गुरुङलाई पक्राउ नगरेकोप्रति पनि प्रश्न उठाइएको छ ।

विज्ञप्तिमा भनिएको छ–‘सुधन गुरुङलाई अहिलेसम्म पक्राउ नगरी, छानबिन नगरी सरकार के हेरेर बसेको छ ? छानबिन गर्न प्रहरी छ, सरकारी वकिल कार्यालय छ, राजस्व अनुसन्धान विभाग छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ। किन छुट्टै समिति चाहियो ?’

यस्ता छन् जेनजी मुभमेन्ट नेपालका मागहरु

१. गृह मन्त्रालय र नेपाल प्रहरीले सांसद कृष्णकुमार कार्कीलाई तत्काल पक्राउ गरी आगजनी, तोडफोड तथा सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याएको अभियोगमा कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाओस्।
२. राजनीतिक संरक्षण र दोषी उन्मुक्तिको संस्कृतिको अन्त्य गर्दै कानूनी राज्यको प्रत्याभूति गरियोस्।
३. नाइजेरियन युवतीसँग सम्बन्धित आरोपको निष्पक्ष अनुसन्धान गरी पीडितलाई न्याय सुनिश्चित गरियोस्।

यसैबीच, सांसद कार्कीमाथि कारबाही गर्न संसद बैठकमै माग भएको छ । कार्कीको विवादित प्रकरण सदन प्रवेश गरेको हो। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपाकी सांसद पार्वती विकले सो विषय सदनमा उठाएकी हुन् ।

सांसद कार्कीमाथि नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप लागेको छ।

त्यसबारे उनले भनिन्–‘एकजना सत्तापक्षका सांसदले एकजना विदेशी महिलालाई गर्भवती बनाएर बेपत्ता भएको कुरा सामाजिक सञ्जालमा यत्रतत्र सर्वत्र छ। यो कुराले असाध्यै पीडादायी अवस्था सिर्जना गरेको छ। अन्तर्राष्ट्रिय जगतमा नेपालीहरूलाई बुझ्ने तरिका के हो ? हाम्रो राष्ट्रियताको विषय के हो ? उनीहरूले हाम्रो देशलाई कसरी हेर्छन् र हामीलाई कुन ढङ्गले बुझ्छन् ?’

उनले सो प्रकरणको यथार्थ के हो ? सदनलाई जानकारी गराउन माग गरिन्। उनले घटना सत्य भए सांसद कार्कीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताइन्।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्