प्रतिनिधिसभामा दुईवटा विधेयक दर्ता
काठमाडौं । प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता भएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेकाी हुन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक प्रधानमन्त्रीको हैसियतमा दर्ता गरिएको हो भने मतदाता नामावलीसम्बन्धी विधेयक गृहमन्त्रीको जिम्मेवारीअन्तर्गत अगाडि बढाइएको बताइएको छ।
विधेयकमा नेपालको संविधानको धारा ८४(२) अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधित्व सुनिश्चित गर्न जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम तथा पिछडिएको क्षेत्रका समुदायको सहभागिता समेट्ने व्यवस्था संशोधन गर्न खोजिएको उल्लेख छ।
०७८ सालको राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार विभिन्न समुदायको जनसंख्या प्रतिशत अद्यावधिक भएकाले सोही आधारमा समानुपातिक प्रतिनिधित्वको प्रतिशत कायम गर्न आवश्यक परेको भन्दै सरकारले संशोधन प्रस्ताव अघि सारेको हो ।
सरकारले २१ फागुनको निर्वाचनमा छुट भएका मतदातालाई नामावलीमा समावेश गर्न अध्यादेश जारी गरेको थियो। अहिले सोही व्यवस्थालाई कानुनी रूपमा स्थापित गर्न विधेयक दर्ता गरिएको हो।
प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक भने आजै संसदमा पेस भएको छ ।
यस्तै प्रतिनिधि सभाको अर्को बैठक जेठ ७ गते बिहीबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।
प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार
















