सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण
काठमाडौँ, १३ जेठ । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२ सामुदायिक विद्यालयलाई एक–एक थान इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ ।
बैंकका अनुसार उक्त हस्तान्तरण कार्यक्रम जेठ ११ गते श्री नारायणी आधारभूत विद्यालयको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख निरज श्रेष्ठ, दमौली शाखा प्रबन्धक दिपक पौडेल, डुम्रे शाखा प्रबन्धक सुधिर वाग्ले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु सिम्खडा, यूडब्लुएस नेपालका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दै सामुदायिक विद्यालयका विद्यार्थीलाई आधुनिक र गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यले स्मार्ट बोर्ड सहयोग गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार उक्त प्रविधिमैत्री सहयोगबाट १२ विद्यालयका वार्षिक १,५०० भन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । स्मार्ट बोर्डमार्फत कक्षाकोठाको शिक्षणलाई दृश्यात्मक र अन्तरक्रियात्मक बनाउँदै भिडियो, चित्र तथा डिजिटल सामग्री प्रयोग गरी सिकाइ प्रक्रियालाई थप प्रभावकारी र रोचक बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
सिद्धार्थ बैंकले दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राख्दै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरेको छ । आगामी दिनमा पनि यस्ता सामाजिक गतिविधिलाई निरन्तरता दिने योजना रहेको बैंकले जनाएको छ ।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार







