डिडिसीबाट सिआइबीले कागजात नियन्त्रणमा लियो, अनुसन्धान जारी



काठमाडौँ १३ जेठ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले दुग्ध विकास संस्थान (डिडिसी) बाट अनुसन्धानका लागि महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

लैनचौरस्थित डिडिसी कार्यालयमा पुगेको सिआइबी टोलीले आवश्यक अनुसन्धानका लागि कागजात संकलन गरेको हो ।

सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले अनुसन्धानका क्रममा कागजात नियन्त्रणमा लिइएको पुष्टि गर्दै थप विवरण अनुसन्धानपछि मात्रै खुल्ने बताए ।

“हामीसँग आएको विषयमा नियन्त्रणमा लिने र अनुसन्धान गर्ने काम सिआइबीको हो । अनुसन्धानका लागि कागजातहरू लिएका छौँ, अन्य कुरा अनुसन्धानपछि थाहा हुन्छ,” उनले भने ।

हाल डिडिसीले किसानलाई तिर्नुपर्ने करोडौँ रकम भुक्तानी गर्न बाँकी रहेको छ । संस्थानले दैनिक करिब एक करोड रुपैयाँ बक्यौता भुक्तानी प्रक्रिया अघि बढाएको जनाइएको छ ।

कागजात नियन्त्रणमा लिनुको कारण र अनुसन्धानको विषय भने सिआइबीले खुलाएको छैन । अनुसन्धानबाट डिडिसीको आर्थिक तथा प्रशासनिक अवस्थासम्बन्धी थप तथ्य बाहिर आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार