TOB लेखिएका समूहको भूमिकामाथि थप अनुसन्धान गर्न आयोगको सिफारिस
काठमाडौँ, १३ जेठ । जेनजी आन्दोलनका क्रममा ‘TOB’ लेखिएको कालो टिसर्ट लगाएका करिब १५–२० जनाको समूहले आन्दोलनकारीलाई उक्साएको हुन सक्ने भन्दै राष्ट्रिय मानवअधिकार आयोगले उनीहरूको भूमिकाबारे विस्तृत अनुसन्धान गर्न सिफारिस गरेको छ ।
प्रतिवेदनले आन्दोलन शान्तिपूर्ण अवस्थाबाट हिंसात्मक बन्नुमा उक्त समूहको प्रवेशपछि परिस्थिति बिग्रिएको हुन सक्ने संकेत गरेको छ ।
प्रतिवेदनले शान्तिपूर्ण विरोध प्रदर्शनलाई पूर्वयोजनाबद्ध तरिकाले हिंसात्मक बनाइएको संकेत गर्छ। भाद्र २३ गते मध्याह्नतिर हात र शरीरमा ‘TOB’ ट्याटु खोपेका तथा कालो टिसर्ट लगाएका १५–२० जनाको बाइकर समूहले भीडलाई संसद् भवनतर्फ उक्साएको प्रतिवेदनमा जनाइएकाे छ।
यस अघि नै सामाजिक सञ्जालमा AI-generated विध्वंसका फोटो/भिडियो फैलिएका थिए र ‘Molotov cocktail’ बनाएर ल्याउन आह्वान गरिएको थियो। नेपाल प्रहरीको नक्कली Facebook पेज बनाई विद्यार्थीलाई ढाल बनाउन खोजिएको पनि सुरक्षाकर्मीको बयानबाट पुष्टि भएको छ। यी बाइकर समूहको वास्तविक परिचय र सम्बन्ध अझै अनुसन्धान गरिनुपर्ने आयोगले जनाएको छ।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार
















