गैरआवासीय नेपाली विधेयक : मन्त्री खनालले दिए व्यापक छलफलको आश्वासन



काठमाडौं, १४ जेठ । परराष्ट्र मन्त्री शिशिर खनालले हाल सार्वजनिक गरिएको गैरआवासीय नेपालीसम्बन्धी विधेयकको मस्यौदा सबै सरोकारवालासँग व्यापक छलफल गरेर मात्र संसद्मा पेस हुने बताएका छन्।

एशोसिएशन अफ नेपाली ओरिजिन (एएनओ) को प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले हालको मस्यौदा ‘शून्य ड्राफ्ट’ मात्र भएको स्पष्ट पार्दै सबै पक्षको राय सुझाव लिइने आश्वासन दिए।

एएनओले मस्यौदाका कतिपय बुँदा अव्यावहारिक रहेको र विदेशिएका नेपालीलाई स्वदेशसँग जोड्न पर्याप्त नभएको भन्दै मन्त्रीको ध्यान खिचेको थियो। उपाध्यक्ष सुशील कुमार पन्तले यो कानुन नेपाली पन र नेपाली मनलाई दीर्घकालसम्म सेतुका रूपमा जोड्न सक्नुपर्ने धारणा राखे।

ध्यानाकर्षण पत्रमा मुख्यतः तीन माग राखिएको छ — नेपाली उत्पत्तिसम्बन्धी परिभाषामा संशोधन, तीन पुस्ताभित्र र बाहिरका विदेशिएका नेपालीलाई समेट्ने व्यवस्था र मस्यौदामा व्यापक परिमार्जन।

मन्त्री खनालले यस विषयमा आफैंले प्रश्नावली तयार गरेको बताउँदै संसद्मा पेस गर्नुअघि सबैको सुझाव लिइने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्