गणतन्त्र दिवस विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने- राज्यसत्ता र शक्तिको अन्तिम स्रोत नागरिक



काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका छन्।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राज्यसत्ता र शक्तिको अन्तिम स्रोत नागरिक नै भएको बताएका छन् ।

उनले नेपालको संविधानले संघीयता, समावेशिता, सामाजिक न्याय र समाजवादका मान्यतालाई आत्मसात गर्दै विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्थाको आधार निर्माण गरेको बताए । वर्तमान व्यवस्थाले सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुर्‍याएको दाबी गर्दै उनले स्थानीय र प्रदेश सरकारहरूले संविधानअनुसार जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गरे ।

यसैगरी राष्ट्रपति पौडेलले नागरिक सर्वोच्चतालाई संविधानको महान उपलब्धिका रूपमा व्याख्या गर्दै जनताको घरआँगनबाटै सार्वभौमिकताको अभ्यास भइरहेको बताए । शासकीय संरचनामार्फत नागरिकका गुनासा सम्बोधन हुने अभ्यासले लोकतन्त्रको जग थप बलियो बनाएको उनको भनाइ थियो ।

यस्तै लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुने मान्यता स्थापित भएको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रताको सुनिश्चितता गरेको उनले बताए ।

साथै गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर प्रदान गरेको उनले बताए।

‘यसले देशवासीलाई जोडेको छ, साझा राष्ट्र बनाउने सङ्कल्प अभिप्रेरित गरेको छ। यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ । त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको महान् प्रेरणा हो,’ उनले भने।

१९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस २०८३’ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । साथै राष्ट्रिय झण्डा फहराइएको र शान्तिको कामना गर्दै परेवा उडाइएका थिए ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरी बलका तर्फबाट ‘मार्चपास’ गरिएको थियो । काठमाडौँ उपत्यकाका विभिन्न स्थानीय तहबाट मुलुकको मौलिक कला संस्कृति झल्कने झाँकी प्रस्तुत भएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री एवं गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष वालेन्द्र शाह, प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी छन् ।

त्यसैगरी, मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सांसद, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, सुरक्षा अङ्गका प्रमुख तथा पदाधिकारी, स्थानीय तहका प्रमुख तथा पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, राष्ट्रसेवक कर्मचारी उपस्थित छन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्