टुँडिखेलमा यसरी मनाइयो १९औँ गणतन्त्र दिवस



काठमाडौं । राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरि १९औँ गणतन्त्र दिवस मनाइँएको छ ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिन्छ ।

सोही अवसरमा गणतन्त्र दिवसको मुख्य समारोह सैनिक मञ्च टुँडीखेलमा आयोजना गरिएको हो ।

१९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस २०८३’ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । साथै राष्ट्रिय झण्डा फहराइएको र शान्तिको कामना गर्दै परेवा उडाइएका थिए ।

कार्यक्रम हुनुपूर्व सुरक्षाकर्मीहरुसहित कलाकारहरुले कवाज तथा झाँकी प्रदर्शन गरेका थिए । समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरी बलका तर्फबाट ‘मार्चपास’ गरिएको थियो । काठमाडौँ उपत्यकाका विभिन्न स्थानीय तहबाट मुलुकको मौलिक कला संस्कृति झल्कने झाँकी प्रस्तुत भएको थियो ।

सो समारोहलाई राष्ट्रपति पौडेलले सम्बोधन गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले भने सम्बोधन् गरेनन् ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री एवं गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी छन् ।

त्यसैगरी, मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सांसद, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, सुरक्षा अङ्गका प्रमुख तथा पदाधिकारी, स्थानीय तहका प्रमुख तथा पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, राष्ट्रसेवक कर्मचारी उपस्थित छन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्