प्रमुख सहर धुलोमुक्त र खाल्डाखुल्डीमुक्त बनाइने



काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि काठमाडौँ उपत्यकालगायत प्रमुख सहरलाई धुलोमुक्त तथा खाल्डाखुल्डीमुक्त बनाउने लक्ष्य लिएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले प्रमुख सहरी सडकको नियमित मर्मतसम्भार गरी धुलो र खाल्डाखुल्डीको समस्या समाधान गरिने बताए ।

उनका अनुसार सडक मर्मतसम्भारलाई राष्ट्रव्यापी अभियानका रूपमा सञ्चालन गर्न २८ अर्ब ५२ करोड रुपियाँ विनियोजन गरिएको छ ।

अर्थमन्त्री डा. वाग्लेले राजमार्गका उच्च जोखिमयुक्त क्षेत्रमा जलवायु अनुकूलित संरचना निर्माण गरिने बताए । पहिरोका कारण राजमार्गमा हुने अवरोध तत्काल हटाई यातायात सेवा सुचारु गर्न तीन अर्ब १७ करोड रुपियाँ विनियोजन गरिएको उनले जानकारी दिए ।

त्यसैगरी प्रमुख सडक चोकमा ट्राफिक सङ्केत, चोक सुधार, सडक रेखाङ्कन, क्र्यास ब्यारियर तथा डिभाइडर जडान र मर्मत कार्यलाई निरन्तरता दिन सडक सुरक्षाका लागि दुई अर्ब ४६ करोड रुपियाँ छुट्याइएको छ ।

बजेटमा बर्दिबासदेखि काठमाडौँ–तराई–मधेस द्रुतमार्गको प्रारम्भ विन्दुसम्म रेलमार्ग निर्माण कार्य अगाडि बढाइने उल्लेख गरिएको छ । निर्माणाधीन बथनाहा–विराटनगर तथा जनकपुर–जयनगर–बर्दिबास रेलमार्गको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरिएको सरकारले जनाएको छ ।

महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सिसी क्यामेरासहितको आधुनिक ‘ब्लु बस सेवा’ सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइने पनि बजेट वक्तव्यमा उल्लेख छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार