बजेटमा संरचनागत सुधारका विषय समेटिनु सकारात्मक – सभापति थापा
काठमाडौँ, १६ जेठ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले ल्याएको बजेटमा संरचनागत सुधारका कतिपय सकारात्मक विषय समेटिएकोमा स्वागत गर्दै ती नीति र कार्यक्रमका लागि आवश्यक कानुन निर्माणमा प्रतिपक्षको हैसियतले सहयोग गर्ने स्पष्ट पारेका छन्।
शनिबार नेपाल थारु संघको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले भने -‘लामो समयदेखि नेपाली कांग्रेसले नेपालको अर्थतन्त्रमा संरचनागत सुधार गर्नुपर्छ भन्ने कुराको पैरवी गर्दै आएको थियो। हिजो सरकारले ल्याएको बजेटमा थुप्रै सकारात्मक नीतिगत सुधार अगाडि सारिएको छ, यी कुरालाई हामीले स्वागत गर्नुपर्छ र आवश्यक कानुन निर्माणमा मद्दत पनि गर्नुपर्छ।’
तथापि, उनले सरकारको आलोचना पनि गर्दै आर्थिक मन्दी र बढ्दो महँगीका कारण न्यून आय भएका नागरिकको जनजीवन कष्टकर बनिरहेको बेला सरकार उनीहरूप्रति उदासीन बनेको आरोप लगाए। नयाँ करका दरहरूले निम्न वर्गको भान्सा, शिक्षा र स्वास्थ्य उपचारलाई थप खर्चिलो बनाएको उनको भनाइ थियो।
सरकारका कतिपय निर्णयको सामाजिक सञ्जालमा सस्तो प्रशंसा भइरहेको टिप्पणी गर्दै उनले भने — ूप्रतिपक्षको धर्म लोकप्रियताको पछि बहकिने होइन, राज्यको ढुकुटी र नीतिमा समाजका सबै वर्गको पहुँच सुनिश्चित गराउनु हो। जब सरकारले संविधान र कानुनको उल्लंघन गर्छ वा राज्यका स्रोत(साधन कुनै निश्चित वर्गको हितमा मात्र प्रयोग गर्छ, तब निम्न वर्गका नागरिकको अधिकार रक्षाका लागि कांग्रेस दृढतापूर्वक उभिन्छ।ू
यसैगरी, सभापति थापाले थारु संघ, विद्यार्थी संगठन, महिला र दलित संघलगायत भ्रातृ संगठनहरूलाई आन्तरिक विवाद र माथिल्लो तहको राजनीतिक गन्थन छोडेर तत्काल जनताको माझमा जान निर्देशन दिए। पार्टीलाई जगैदेखि बलियो बनाउन गाउँ(गाउँ पुगेर नागरिकको सुखदुःखमा साथ दिनुपर्ने उनले जोड दिए।
प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार







