राप्रपाबाट अलगिए धवलशमशेर राणा, नयाँ राष्ट्रवादी अभियान घोषणा



काठमाडौँ, १७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणाले पार्टीबाट अलग भएको घोषणा गरेका छन्।

आइतबार विज्ञप्ति जारी गर्दै राणाले नयाँ राष्ट्रवादी अभियान सुरु गर्ने घोषणा गरेका हुन्। उनले राष्ट्रवादी शक्तिको निर्माण गर्ने उद्देश्यसहित आगामी राजनीतिक यात्रा तय गरिएको बताए।

राणाले नयाँ अभियानमा विशेषगरी युवा पुस्तालाई सहभागी हुन आह्वान गरेका छन्। देश र समाजका लागि नयाँ सोच र ऊर्जा आवश्यक रहेको उल्लेख गर्दै उनले राष्ट्रवादी शक्तिहरूबीच एकता आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

विज्ञप्तिमा उनले राप्रपामा आबद्ध साथीहरूलाई शुभकामना दिँदै आफूलाई पार्टीसँग कुनै वैरभाव नरहेको बताएका छन्।

“राप्रपामा आबद्ध साथीहरूलाई यही बाटो सही लाग्छ भने त्यतै रहन शुभकामना छ। कुनै वैरभाव छैन। स्वच्छ मन र आत्मीय सम्बन्ध निर्माण गर्दै हाम्रा मान्यतालाई सही लक्ष्य दिने चाहना हो भने सबै राष्ट्रवादी मित्रहरू एकजुट भएर अघि बढ्न हार्दिक आह्वान गर्दछु,” विज्ञप्तिमा उल्लेख छ।

राणाको यो निर्णयसँगै आगामी दिनमा नयाँ राजनीतिक अभियानको स्वरूप र त्यसमा आबद्ध हुने शक्तिबारे चासो बढेको छ।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार