प्रतिनिधिसभा बैठक विपक्षीको अवरोधपछि स्थगित



काठमाडौँ, १७ जेठ । प्रतिनिधिसभाको बैठक विपक्षी दलका सांसदहरूको अवरोधपछि स्थगित भएको छ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि दर्ता भएका संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा विपक्षी सांसदहरूले विरोध जनाएपछि बैठक स्थगित भएको हो।

सभामुखले संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्न थालेसँगै विपक्षी बेञ्चका सांसदहरू उठेर विरोधमा उत्रिएका थिए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद वासना थापाले समय माग्दै नियमावली मस्यौदामाथिको छलफलमा सहभागी सांसदहरूले मस्यौदालाई समितिमै टुङ्ग्याएर विस्तृत छलफलका लागि सदनमा ल्याउनुपर्ने धारणा राखेकाले तत्काल निर्णयार्थ प्रस्तुत नगर्न आग्रह गरिन्।

तर सभामुखले कार्यसूचीअनुसार प्रक्रिया अगाडि बढाउन थालेपछि नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले वेल घेराउ गरेका थिए। सभामुखले पटक–पटक सांसदहरूलाई संसद्को मर्यादा कायम गर्न आग्रह गरेका थिए।

विपक्षी सांसदहरूलाई सम्झाउन सत्ता पक्षका सांसदहरू पनि वेलमा पुगेका थिए। सो क्रममा सांसदहरूबीच घम्साघम्सीसमेत भएको थियो। अवरोध जारी रहेपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरे।

यसअघि बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘समितिको प्रतिवेदन, २०८३ माथि दफावार छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको थियो।

बैठकमा सभामुख अर्यालले नियमावली मस्यौदामाथि ३५ वटा संशोधन प्रस्ताव प्राप्त भएको जानकारी दिएका थिए।

छलफलमा विभिन्न दलका सांसदहरूले संशोधन प्रस्ताव प्रस्तुत गर्दै आफ्नो धारणा राखेका थिए।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै समितिका सभापति पराजुलीले संविधान, कानुन र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै विगतका अभ्यास, अनुभव र परम्परालाई परिमार्जन गरेर नियमावलीको मस्यौदा तयार गरिएको बताए।

प्रतिनिधिसभाको चैत २३ गतेको बैठकले रास्वपाका सांसद गणेश पराजुलीको संयोजकत्वमा संसद्मा प्रतिनिधित्व गर्ने दलका सांसदहरू सम्मिलित १५ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको थियो। समितिले वैशाख ८ गते मस्यौदा तयार गरी वैशाख २८ गते प्रतिनिधिसभामा पेस गरेको थियो।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार