प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध प्रतिपक्षीको अवरोध, प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित



काठमाडौँ, १८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षी दलले अवरोध जारी राखेपछि प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा दिएको अभिव्यक्ति तथ्यहीन र त्रुटिपूर्ण रहेको भन्दै प्रतिपक्षी सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सोमबारको दोस्रो बैठक पनि स्थगित गरेका हुन् ।

बैठक सुरु हुनेबित्तिकै प्रतिपक्षी सांसदहरू उठेर विरोधमा उत्रिएका थिए । सभामुख अर्यालले सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि विरोध जारी रहेपछि बैठक स्थगित गरिएको हो ।

यसैबीच, आइतबार प्रतिनिधिसभा बैठकमा भएको अमर्यादित व्यवहारबारे छानबिन गर्न समिति गठन गरिएको छ । सभामुख अर्यालले प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन पेश गर्ने गरी छानबिन समिति गठन भएको जानकारी दिए ।

यसअघि बसेको पहिलो बैठकमा पनि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री शाहको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गर्दै बैठक अवरुद्ध गरेका थिए ।

नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसको आधार र प्रमाण सार्वजनिक गर्न माग गरे । उनले प्रधानमन्त्रीको भनाइका आधारमा भारतले भविष्यमा भूमि फिर्ता मागे त्यसको जवाफ कसरी दिने भन्ने प्रश्न पनि उठाए ।

नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीको अभिव्यक्तिमा कुनै सत्यता नरहेको दाबी गर्दै उक्त भनाइ फिर्ता लिन माग गरे । उनले नेपालले भारतको भूमि नमिचेको र प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा चोट पुगेको बताए ।

नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीले अनुभवको अभाव र बहुमतको आडमा तथ्यहीन अभिव्यक्ति दिएको आरोप लगाए । उनले रास्वपाका सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्वसन्ध्यामा आएको अभिव्यक्तिमाथि पनि प्रश्न उठाए ।

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले राष्ट्रियतासँग जोडिएको गम्भीर विषयमा प्रधानमन्त्रीको भनाइले गलत नजिर स्थापित गरेको बताउँदै अभिव्यक्ति फिर्ता नलिएसम्म सदन अवरोध जारी रहने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्य र प्रमाणमा आधारित हुनुपर्ने भन्दै नेपालले भारतको भूमि मिचेको कुनै प्रमाण भए सार्वजनिक गर्न चुनौती दिए ।

प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सभामुखले कुनै रुलिङ नगरेको भन्दै सभामुखको भूमिकाप्रति पनि असन्तुष्टि जनाएका थिए ।

जवाफमा सभामुख अर्यालले गतिरोध अन्त्यका लागि प्रतिपक्षीसँग पटक–पटक संवाद र सहमतिको प्रयास गरिएको तर विपक्षी दलहरू छलफलमा सहभागी नभएको बताए । उनले कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि विपक्षी प्रतिनिधि उपस्थित नभएको जानकारी गराउँदै राष्ट्रियता र कानुन निर्माणका विषयमा प्रतिस्पर्धा गर्न सुझाव दिए ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि जेठ २० गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार