रास्वपा सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबिच भेटवार्ता



नयाँ दिल्ली, १९ जेठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतका विदेशमन्त्री डा. एस. जयशङ्करसँग नयाँ दिल्लीमा भेटवार्ता गरेका छन् ।

भारत भ्रमणमा रहेका लामिछाने र विदेशमन्त्री जयशङ्करबीच मंगलबार भएको भेटमा नेपाल–भारत सम्बन्ध, विकास साझेदारी तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ ।

भेटपछि सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै विदेशमन्त्री जयशङ्करले रास्वपा सभापति लामिछाने र उनको प्रतिनिधिमण्डलसँग भेट गर्न पाउँदा खुसी लागेको बताए । उनले नेपाल–भारतबीचको विकास साझेदारी र जनस्तरको गहिरो सम्बन्धले क्षेत्रीय विकास तथा समृद्धिलाई थप गति दिने विश्वास व्यक्त गरे ।

लामिछानेको नेतृत्वमा भएको प्रतिनिधिमण्डलमा रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, सचिवालय सदस्य दीपक बोहरालगायत सहभागी थिए ।

यसअघि लामिछानेले नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा भाजपा नेतृत्वसँग पनि भेटवार्ता गरेका थिए ।

भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन, महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले तथा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालगायत नेतासँग भएको छलफलमा दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको रास्वपाले जनाएको छ ।

भेटवार्तामा लोकतान्त्रिक मूल्य–मान्यता, संगठन निर्माण, जनसम्पर्क विस्तार, विकासमुखी सुशासन तथा समकालीन राजनीतिमा नयाँ पुस्ताको नेतृत्व भूमिकाबारे पनि अनुभव आदानप्रदान भएको बताइएको छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार