नेपाल एसियाली खेलकुद पुरुष क्रिकेट छनोट प्रतियोगिताको च्याम्पियन
काठमाडौँ, २४ जेठ । नेपालले एसियाली खेलकुद पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सिङ्गापुरमा आज भएको फाइनल खेलमा हङकङलाई १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।
सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा वर्षाले प्रभावित बनेको फाइनल खेलमा नेपालले डकवर्थ–लुइस (डीएलएस) पद्धतिअनुसार १९ रनको जित हात पारेको हो।
हङकङले प्रस्तुत गरेको १८९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ११.३ ओभरमा दुई विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो। वर्षा नरोकिएपछि खेल पुनः सञ्चालन हुन नसक्दा डीएलएस पद्धतिका आधारमा नेपाल विजयी घोषित भएको हो।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले। उनले ४० बलमा आठ चौका र तीन छक्काको मद्दतमा ६५ रन बनाए। कप्तान रोहित पौडेलले २४ बलमा ३५ रनको योगदान दिए। अर्का ओपनर आसिफ शेख भने रनको खाता खोल्न नपाउँदै आउट भएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८८ रन बनाएको थियो। हङकङका लागि अंशुमन रथले ४५ बलमा छ चौका र छ छक्कासहित ८० रनको शानदार इनिङ्स खेले। सहिद वासिफले २८ बलमा सात चौका र तीन छक्काको सहयोगमा ५५ रन जोडे भने शिव माथुरले २६ रन बनाए।
नेपालका लागि बलिङतर्फ शेर मल्लले चार विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे। करण केसीले दुई तथा सन्दीप लामिछानेले एक विकेट लिए।
नेपालले सेमिफाइनलमा ओमानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने हङकङले मलेसियालाई हराउँदै उपाधि भिडन्त तय गरेको थियो।
नेपाल र हङकङ दुवै टोली आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिताका लागि यसअघि नै छनोट भइसकेका छन्।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार
















