आईएमई लाइफ इन्स्योरेन्सको रेटिङ स्तरोन्नति, ‘केयर–एनपी बीबीबी’ बाट ‘केयर–एनपी ए–’ प्राप्त
काठमाडौँ, २६ जेठ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो बीमक वित्तीय क्षमता मूल्याङ्कन (इन्स्योरर फाइनान्सियल स्ट्रेन्थ रेटिङ) मा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ।
कम्पनीका अनुसार केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको रेटिङ ‘केयर–एनपी बीबीबी’ बाट स्तरोन्नति गर्दै ‘केयर–एनपी ए–’ प्रदान गरेको छ।
कम्पनीले उक्त स्तरोन्नतिले आफ्नो सुदृढ वित्तीय अवस्था, प्रभावकारी जोखिम व्यवस्थापन, सुधारोन्मुख व्यावसायिक कार्यसम्पादन तथा संस्थागत सुशासनप्रतिको प्रतिबद्धता पुष्टि गरेको जनाएको छ। नयाँ रेटिङले कम्पनीसँग वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको र अघिल्लो मूल्याङ्कनको तुलनामा थप सबल संस्थाका रूपमा स्थापित भएको संकेत गर्ने कम्पनीको भनाइ छ।
कम्पनी व्यवस्थापनले रेटिङ स्तरोन्नति सम्पूर्ण सरोकारवालाको विश्वास, सहयोग र प्रतिबद्धताको प्रतिफल भएको बताएको छ। साथै आगामी दिनमा ग्राहक सेवा, संस्थागत सुशासन, नवप्रवर्तन तथा दीर्घकालीन वित्तीय स्थायित्वलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
‘इन्स्योरिङ फ्युचर’ भन्ने मूल नारासहित स्थापना भएको आईएमई लाइफ इन्स्योरेन्स नेपालका अग्रणी जीवन बीमा कम्पनीहरूमध्ये एक रहेको कम्पनीले जनाएको छ। कम्पनीले जीवन बीमामार्फत व्यक्ति तथा परिवारको आर्थिक सुरक्षा, बचत र भविष्य सुनिश्चित गर्ने उद्देश्यले विभिन्न जीवन बीमा योजनाहरू सञ्चालन गर्दै आएको छ।
देशभर फैलिएको शाखा तथा उपशाखा सञ्जाल र हजारौँ अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको कम्पनीले जीवन बीमाको पहुँच विभिन्न समुदायसम्म विस्तार गरेको जनाएको छ। ग्राहक केन्द्रित सेवा, डिजिटल प्रविधिको प्रयोग, जिम्मेवार लगानी व्यवस्थापन तथा नवीन बीमा समाधानमार्फत कम्पनीले नेपाली बीमा क्षेत्रमा विशिष्ट पहिचान स्थापित गरेको दाबी गरेको छ।
व्यावसायिक गतिविधिसँगै कम्पनीले स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता, सामुदायिक विकास तथा सामाजिक उत्थानका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ विभिन्न सामाजिक अभियानमा सक्रिय सहभागिता जनाउँदै आएको कम्पनीको भनाइ छ।
कम्पनीले ‘केयर–एनपी ए–’ रेटिङ प्राप्त गर्नु केवल उपलब्धि मात्र नभई अझ उत्कृष्ट सेवा, उच्च व्यावसायिक मापदण्ड तथा वित्तीय सुदृढताप्रति थप जिम्मेवार बन्ने प्रेरणा भएको जनाएको छ। साथै आगामी दिनमा बीमितहरूको भविष्य सुरक्षित गर्दै नेपालको बीमा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार
















