रविलाई कांग्रेसको प्रश्न-दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारत भ्रमणको क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद आङदेम्बेले भारत भ्रमणका क्रममा लामिछानेले ‘सिमानाको विषय ढोल बजाएर छलफल गर्ने विषय नभएको’ भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।
images
उनले सभापति लामिछानेले सिमानाको विषयमा छलफल नगरेकोप्रति पनि आपत्ति जनाए । उनले भने–‘दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ पनि उच्चारण नगरी किन फर्किनु भयो ? हामीलाई पनि थाहा छ ढोल बजाएर हुँदैन । यसका केही मापदण्ड छन् ।’
संसदीय दलका नेता आङ्देम्बेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबारे गम्भीर प्रश्न उठेको तर त्यस्तो प्रश्नबारे मौन रहेको भनेर पनि प्रश्न गरे ।
सदनको रोष्ट्रममा उभिएर आङ्देम्बेले भने–‘हिजो मन्त्रीको बारे प्रश्न उठ्दा सबै आगो, आज अर्थमन्त्रीकोबारे गम्भीर प्रश्न उठ्यो । सबै बरफ किन ?’
अर्थमन्त्री वाग्ले करका दर हेरफेर विवादमा परेका छन् । आर्थिक विधेयकमा भएको हेरफेर र करका दरको हेरफेरको सूचना चुहावट भएको विषयमा वाग्ले आफैँ भने पन्छिन खोजिरहेका छन् ।
अर्थमन्त्री डा. वाग्लेले संघीय संसदका दुवै सदनमा जेठ १५ गते आर्थिक विधेयक पेस गरेका थिए । उक्त विधेयकमा केही अस्पष्टता र केही भाषिक त्रुटि रहेको भन्दै जेठ १७ गते उक्त त्रुटिहरू सच्याउन संसद् सचिवालयमा निवेदन दिएका थिए ।
तर, विधेयक संसद्मा अगाडि बढ्ने प्रक्रियासम्बन्धी छुट्टै व्यवस्था छ । विधेयकमा संशोधन गर्ने प्रक्रियासम्बनधी प्रक्रिया प्रतिनिधिसभा नियमावलीको परिच्छेद १५ मा छ ।
जस अन्तर्गत विधेयक अगाडि बढाउन विधेयक प्रस्तुत गर्ने अनुमतिका लागि सूचना दिनुपर्छ । विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमै सांसदहरूले विरोधको सूचना दिन सक्छन् । त्यस्तो सूचनाउपर सभाले निर्णय लिन्छ ।
त्यसपछि सभामा विधेयकमाथि सामान्य छलफल हुन्छ । सामान्य छलफल समाप्त भएपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुन्छ । यस्तो प्रस्ताव सभाले स्वीकृत गरेपछि सांसदहरूले संशोधन प्रस्ताव दर्ताका लागि समय पाउँछन् ।
‘विधेयकमा संशोधन पेस गर्न चाहने कुनै पनि सदस्यले विधेयकमाथिको सामान्य छलफल समाप्त भएको बहत्तर घण्टाभित्र आफूले पेस गर्न चाहेको संशोधनसहितको सूचना सचिवलाई दिनुपर्नेछ’ नियमावलीको नियम ११२ मा छ ।
यी प्रक्रिया सभामा अगाडि बढेकै छैन । सांसदहरूले संशोधनका लागि प्रस्ताव पेस गर्ने समय पाउने अवस्थामा विधेयक पुगेकै छैन ।
यो प्रक्रिया सुरु नहुँदै अर्थमन्त्रीले पाँच बुँदे त्रुटि सुधार भनेर संसद् सचिवालयमा पत्र पठाएको भनेर विपक्षी दलहरूले प्रश्न उठाएका छन् ।
त्रुटि सुधारको विधि र प्रक्रिया अनुसार भयो वा भएन वा ५ बुँदे त्रुटि सुधारको कानूनी आधार के हो ? कुन कानून अनुसार त्रुटि सुधारको पत्र संसद् सचिवालयमा पठाएको हो ? यसबारे अर्थमन्त्री वाग्लेले कुनै जवाफ दिएका छैनन् ।
प्रधानमन्त्रीले सदनमा जवाफ नदिएसम्म संसद अवरोध कायमै राख्ने अडानबाट पछि हटेको बताउँदै संसदीय दलका नेता आङ्देम्बेले राष्ट्रियताप्रति आफ्नो भाव ओकल्न गोपाल योञ्जनको गीत सम्झिए ।
‘खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न । घोटिएर हात पाउ झरि जाउन औंला, तर कोही अगाडि यी हात जोडिन्न,’ योञ्जनका गीत आङ्देम्बेले सम्झिए ।
नेपालले भारतको जमिन कहिल्यै नमिचेको बताउँदै उनले भारतले नेपालको जमिन मिचेको विभिन्न तथ्यले देखाएको बताए ।
तर प्रधानमन्त्रीले नेपालले पनि जमिन मिचेको भने झैँ गरी बोलेको र आफूहरूले प्रश्न उठाएको बताए ।
प्रधानमन्त्री संसदमा आफैँले बोलेको अभिव्यक्तिमा प्रश्न उठेपछि नआएको र यहीकारण संसद बन्धक बन्न पुगेको भनेर उनले अगाडि बढ्न आफूहरू नै तयार भएको बताए ।
प्रधानमन्त्रीले लज्जास्पद अभिव्यक्ति दिएका दिन निद्रा लाग्यो कि लागेन ?
नेता आङ्देम्बेले रास्वपाका सांसदहरूलाई प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले ‘नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका दिन’ निद्रा लाग्यो कि लागेन भनेर सोधे ।
रास्वपाका सांसदहरूको ओठ सत्ताको टेपले टालिएको भन्दै उनले भने–‘नेपालले भारतको सीमा मिचेकै हो भन्दा १८१ हातहरूले गडगडाहट ताली बजाउनुभयो । राति निद्रा लाग्यो लागेन, खाना खानु भयो कि भएन त्यो सोध्न चाहान्न। यति भन्न चाहन्छु बहुमतले गडगड तालीले समर्थन गर्नुभयो, किनकि मिचेको होइन भन्ने संख्या त अल्पमतमा थियो।’
उनले त्यो आवाजले आज पनि आफूलाई भने निद्रा आउन नदिएको बताए। यस्तो लज्जास्पद र दुःखद् दृश्य कहिल्यै नदेखिएको बताए।
आङ्देम्बेले केही सांसदहरू ‘न्वारनदेखिको बल’लगाएर नेपालले मिचेको भूमि खोजी गरिरहेको बताएका छन्।
उनले भने–‘प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण छ, जतिसुकै रफु भरे पनि शब्द विशेषण थपे पनि उहाँले भनेको यही हो। यो अभिव्यक्ति आपत्तिजनक, लज्जास्पद थियो ।’
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार
















