गैर नेपालीलाई नागरिकता सिफारिस गर्ने वडाध्यक्षसहित चार जना पक्राउ
दाङ । दाङमा झुट्टा विवरण पेस गरेर गैरनेपाली नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ परेका छन् ।
भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सहयोग गरेको आरोपमा दाङको राजपुर गाउँपालिका–४ का वडाध्यक्षसहित चार जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर अहिर रहेका छन्।
उनीमाथि भारतीय नागरिक आलम जोल्हालाई आफ्नो वडाको स्थानीय बासिन्दा भएको भनी सिफारिस प्रदान गरेर नागरिकता बनाउन सहयोग गरेको आरोप छ।
प्रहरीका अनुसार नागरिकता प्राप्त गर्नका लागि कुनै पनि योग्यता नपुगेका गैरनेपाली नागरिक जोल्हालाई राजपुर गाउँपालिका–४ निवासी स्वर्गीय सनाउल्ला जोल्हाको छोरा कायम गराई कागजात मिलाइएको खुलेको छ ।
उक्त प्रकरणमा इलाका प्रहरी कार्यालय गढवाले वडाध्यक्ष अहिरसहित चार जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्ने अन्यमा भारतीय नागरिक ४४ वर्षीय आलम जोल्हा, राजपुर गाउँपालिका४ का वडासचिव राजकुमार कहार तथा कार्यालय सहयोगी मिना चौधरी रहेका छन्।
चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। चारै जनाविरुद्ध नागरिकता सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
यसैगरी ती भारतीय नागरिकको नेपाली नागरिकतामा इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन प्रमुख प्रेम खवासको हस्ताक्षर छ । त्यसैले उनी पनि अनुसन्धानको दायरामा तानिएका छन् ।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार
















