मधेशका सबै जिल्लामा असार ४ गते बालबालिकालाई स्वर्णविन्दु खुवाइने



जनकपुरधाम, ३० जेठ । धनुषासहित मधेश प्रदेशका सबै जिल्लामा आगामी असार ४ गते प्रदेश आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउने भएको छ ।

कार्यक्रमका लागि चिकित्सालयले तयारी तीव्र पारेको छ । यसैक्रममा शनिबार स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा विभिन्न पालिकामा कार्यरत आयुर्वेद स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।

अभिमुखीकरण कार्यक्रममा स्वर्णविन्दु तयार गर्ने विधि, भण्डारण तथा बालबालिकालाई खुवाउने प्रक्रियाबारे प्रशिक्षण दिइएको थियो ।

वरिष्ठ आयुर्वेद चिकित्सक तथा प्रदेश आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख डा. महारुद्र ठाकुरले बालबालिकाको शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न तथा बौद्धिक विकासमा सहयोग पुर्‍याउन स्वर्णविन्दु उपयोगी हुने बताए ।

स्वर्णविन्दुमा स्वर्ण भष्म र ब्राह्मी घृतको प्रयोग गरिने आयुर्वेद चिकित्सक डा. नन्दकिशोर कुशवाहाले बताए । उनका अनुसार यो जन्मदेखि पाँच वर्ष उमेरसम्मका बालबालिकालाई खुवाइन्छ ।

प्रमुख डा. ठाकुरले स्वर्णविन्दुले बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन सहयोग गर्ने भएकाले यसको महत्व बढ्दै गएको बताए । मधेश प्रदेशमा यो कार्यक्रम पहिलो पटक सञ्चालन गर्न लागिएको हो ।

नेपाल सरकारले मान्यता दिएको स्वर्णविन्दु प्राशन कार्यक्रम धनुषासहित मधेश प्रदेशका सबै जिल्लामा एकैसाथ सञ्चालन गरिने जानकारी चिकित्सालयले दिएको छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्