‘एउटा अल्बाट्रस : प्रशान्त महासागरदेखि काला सागरसम्म’ लोकार्पण



काठमाडौँ, ३० जेठ । साहित्य, यात्रा र संस्कृतिको अन्तर्सम्बन्धलाई उजागर गर्ने नियात्रा कृति ‘एउटा अल्बाट्रस : प्रशान्त महासागरदेखि काला सागरसम्म’ लोकार्पण गरिएको छ ।

कार्यक्रममा कृतिका लेखक सागर गैरेले विभिन्न देशको भ्रमणका क्रममा देखेका समाज, संस्कृति, इतिहास, प्रकृति र मानवीय अनुभूतिलाई नियात्राको स्वरूपमा प्रस्तुत गरेको बताए । उनले यात्रा केवल भौगोलिक दूरी पार गर्ने प्रक्रिया मात्र नभई आत्मअन्वेषण, संस्कृतिको अध्ययन र विश्वलाई बुझ्ने माध्यम भएको उल्लेख गरे ।

कोहलपुरमा बसेर लामो समयदेखि साहित्य साधनामा सक्रिय गैरेको कृतिमा मलेसिया, भियतनाम, भारतको गोवा, फिलिपिन्स र जर्जिया भ्रमणका अनुभव समेटिएका छन् । पुस्तकमा प्रशान्त महासागरका किनारादेखि युरोप–एसियाको सङ्गम क्षेत्र मानिने काला सागर आसपाससम्मको यात्रालाई संवेदनशील र कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।

नियात्राकार युवराज नयाँघरेले पुस्तकले नेपाली नियात्रा साहित्यमा नयाँ ऊर्जा थपेको बताए । उनले लेखकको दृष्टि सामान्य पर्यटकभन्दा फरक रहेको उल्लेख गर्दै यात्राका दृश्य र अनुभवलाई सामाजिक तथा सांस्कृतिक चेतनासँग जोडेर व्याख्या गरिएको बताए । नियात्राको मूल शक्ति लेखकको अवलोकन क्षमता र संवेदनशीलता भएको र त्यो पुस्तकभरि स्पष्ट देखिने उनको भनाइ थियो ।

लेखक प्रतीक ढकालले पुस्तकलाई नेपाली दृष्टिकोणबाट विश्वलाई बुझ्ने प्रयासका रूपमा व्याख्या गरे । उनले विदेशी भूगोल र समाजको वर्णन गर्दा लेखकले नेपाली समाज, संस्कृति र परिवेशसँग तुलना गर्ने शैली अपनाएको बताए ।

साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ ले पुस्तकलाई विभिन्न देशका भूगोलभित्र मानव सभ्यताको विकासक्रम खोज्ने कृतिका रूपमा चित्रण गरे । उनले भ्रमण गरिएका स्थानलाई केवल मनोरञ्जनको विषय नबनाई इतिहास, राजनीति, संस्कृति र सामाजिक संरचनासँग जोडेर प्रस्तुत गरिएको बताए ।

नियात्राकार जय छाङ्छाले पुस्तकको भाषाशैली, प्रस्तुतीकरण र दृश्यात्मक वर्णनको प्रशंसा गरे । नियात्राकार भवानी खतिवडाले पुस्तकले विश्व नागरिकताको चेतना विस्तार गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे । उनका अनुसार पुस्तकले सीमित भूगोलमा केन्द्रित सोचलाई फराकिलो बनाउँदै विभिन्न संस्कृति, भाषा र जीवनशैलीप्रति सम्मानको भावना विकास गर्छ ।

पुस्तकमा समेटिएका पाँच देशका अनुभवले पाठकलाई फरक–फरक सभ्यता र जीवनशैलीसँग परिचित गराउँछन् । मलेसियासम्बन्धी अध्यायमा बहुसांस्कृतिक समाज, आधुनिक सहरी विकास र दक्षिणपूर्वी एसियाली जीवनशैलीको चित्रण गरिएको छ भने भियतनामको प्रसङ्गमा युद्धको इतिहास, राष्ट्रिय आत्मसम्मान र विकास यात्रालाई नियात्रात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

त्यसैगरी, भारतको गोवामा समुद्री संस्कृति, पर्यटन उद्योग, उपनिवेशकालीन इतिहास र बहुसांस्कृतिक जीवनका विविध आयाम समेटिएका छन् । फिलिपिन्सका टापु, समुद्री जीवन, स्थानीय समुदाय र प्राकृतिक सौन्दर्यलाई पनि पुस्तकमा विशेष स्थान दिइएको छ । जर्जिया भ्रमणका क्रममा लेखकले युरोप र एसियाको सङ्गमस्थल मानिने उक्त देशको इतिहास, संस्कृति, धार्मिक सम्पदा, काला सागर क्षेत्रको भूगोल तथा स्थानीय जनजीवनलाई रोचक शैलीमा प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्