रास्वपा राजनीतिक पुनर्जागरणको अभियान हो : उपसभापति वाग्ले
चितवन, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्ले ले रास्वपा नेपालको राजनीतिक पुनर्जागरणको अभियान भएको बताएका छन्।
पार्टीको चौथो स्थापना दिवसका अवसरमा चितवनमा आयोजित प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अर्थमन्त्रीसमेत रहेका उनले रास्वपा सकारात्मक परिवर्तनको आकाङ्क्षाको राजनीतिक अभिव्यक्ति भएको बताए।
उपसभापति वाग्लेले आफ्नो पार्टीको उद्देश्य केवल सरकार परिवर्तन नभई राजनीतिक संस्कार परिवर्तन गर्नु रहेको धारणा राखे। रास्वपा विवेक, विधि र नियममा आधारित शासन प्रणाली, योग्यता प्रणाली तथा नागरिक केन्द्रित लोकतन्त्रका पक्षमा रहेको उनले स्पष्ट पारे।
“हामी पुरानो पुस्तासँग सङ्घर्ष गर्न होइन, नयाँ राजनीतिक संस्कार स्थापित गर्न आएका हौँ,” उनले बताए।
नयाँ पुस्ताले केवल प्रश्न सोध्ने मात्र नभई उत्तर दिन र शासन सञ्चालन गर्न पनि सक्षम रहेको प्रमाणित गर्नुपर्नेमा उनले जोड दिए।
भविष्यको नेपालको परिकल्पना प्रस्तुत गर्दै उनले उदार लोकतन्त्र, प्रतिस्पर्धी अर्थतन्त्र, समन्यायिक समाज र सक्षम राज्य निर्माण रास्वपाको लक्ष्य रहेको बताए। अवसरका लागि युवाले विदेशिनुपर्ने बाध्यता अन्त्य हुने, किसान र श्रमिकले सम्मानपूर्वक बाँच्न सक्ने तथा उद्यमीले निर्भय भएर लगानी गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
उपसभापति वाग्लेले आत्मनिर्भर र आत्मविश्वासी नेपाल निर्माणका लागि नागरिकको क्षमता, संस्थागत सुदृढता र राष्ट्रिय आत्मविश्वासलाई केन्द्रमा राख्नुपर्ने बताए।
महाधिवेशनलाई नेपालको राजनीतिक पुनर्जागरणको प्रारम्भका रूपमा चित्रण गर्दै उनले निराशालाई आशामा, आक्रोशलाई निर्माणमा र विद्रोहलाई रूपान्तरणमा बदल्ने अभियानमा सहभागी हुन सबैलाई आह्वान गरे।
“गैरजिम्मेवारीबाट जवाफदेहितातर्फ, संरक्षणवादबाट प्रतिस्पर्धातर्फ र बरालिएको राजनीतिबाट परिणाममुखी लोकतन्त्रतर्फको यात्राको उद्घोष हुन्छ,” उनले बताए।
रास्वपाको प्रथम महाधिवेशन चितवनमा जारी छ। महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरूले समेत सम्बोधन गरिरहेका छन्।
प्रकाशित मिति: ७ असार २०८३, आइतबार












